कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम खेलकुदका लागि उर्वर भूमि रहेको बताएका छन्। महेन्द्रनगरमा आयोजित तेस्रो वासुदेव स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले प्रदेशमा हरेक खेलमा कुशल प्रतिभा रहेको बताए।
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको बजेटले सुदूरपश्चिमको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उल्लेख गर्दै दुई महिनाको मेहनतपछि बजेट ल्याइएको जानकारी दिए।
प्रतियोगिताको फाइनलमा सरस्वती मावि झरना सागरले ओम पुष्पाञ्जली स्कुललाई १–० गोलले पराजित गर्दै उपाधि जितेको छ। विजेता सरस्वती माविले ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ओम पुष्पाञ्जली स्कुलले ३३ हजार ३३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा कञ्चनपुर जिल्लाका ३२ विद्यालयका टोली सहभागी भएका थिए। आयोजकका अनुसार सहभागीमध्ये नौवटा सामुदायिक र २३ वटा संस्थागत विद्यालयका टोलीले प्रतिस्पर्धा गरेका थिए। समापन कार्यक्रममा मुख्यमन्त्री भट्टले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए।