धनगढी । कैलालीको गोदावरी नगरपालिकाले आधारभूत तहको गणित विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक कृष्णबहादुर विकलाई सम्मान गरेको छ।
गोदावरी नगरपालिका–१० स्थित जानकी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक विकलाई राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा नगरपालिकाले ‘उत्कृष्ट गणित शिक्षक’ का रूपमा प्रशंसापत्र प्रदान गरेको हो।
नगरपालिकाका अनुसार आधारभूत तहको गणित विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकाले विकलाई सम्मान गरिएको हो। सम्मानसँगै नगरपालिकाले उनको आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ।
सम्मानपछि शिक्षक विकले विद्यार्थीको मेहनत, विद्यालयको सहकार्य र आफ्नो निरन्तर प्रयासको परिणामस्वरूप यो सम्मान प्राप्त भएको बताए। उनले सम्मानले आगामी दिनमा शिक्षण कार्यमा अझै जिम्मेवार भएर लाग्न थप प्रेरणा मिलेको बताए।