हिक्मत भुल ,कैलाली ।सुदूरपश्चिम नेपालको कैलाली जिल्लामा बसन्ते मकै खेतीले किसानहरूको जीवनमा नयाँ सम्भावनाको ढोका खोलेको छ।
गौरीगंगा नगरपालिकाका किसानहरू परम्परागत खेतीको सीमा पार गर्दै अब व्यावसायिक कृषि तर्फ उन्मुख भइरहेका छन्। हरियो मकैको खपत मात्र जिल्लाभित्रै नभई देशका अन्य भागहरूमा समेत बढेको छ। यसले स्थानीय उत्पादनको मागलाई नयाँ उचाइमा पुर्याइरहेको छ।
गौरीगंगा नगरपालिका–१ का किसान प्रेम बहादुर थारू, जो पहिले परम्परागत रूपमा मकै खेती गर्दै आएका थिए, अब व्यावसायिक रूपमा बसन्ते मकै खेतीमा लागेका छन्। विगत दुई वर्षदेखि उनी १९ कट्ठा जमिनमा बसन्ते मकै खेती गर्दैछन्। प्रेमबहादुर भन्छन्, “गत वर्ष १० क्विन्टल मकै उत्पादन गरेँ, तर बादर र छाडा चौपायाबाट जोगाउन सकिन। यो वर्ष सुरक्षामा विशेष ध्यान दिएको छु र मकैले राम्रो फल दिएको छ। एक बोटमा २ भन्दा बढी घोगा फलेको छ, आशा छ राम्रो आम्दानी हुनेछ।”
प्रेमबहादुर जस्तै अर्को प्रेरणादायी पात्र हुन्– पूर्ण बहादुर बुढा मगर। कोरोना महामारीका कारण सात वर्ष विदेशमा काम गरेर फर्किएका बुढा अहिले पूर्ण रूपमा कृषिमा समर्पित छन्। सुरुमा आर्थिक कठिनाइले गर्दा घर खर्च चलाउनै गाह्रो परेपछि उनी मकै खेतीमा लागे। उनका दुई छोराहरूको पढाइ, श्रीमतीको उपचार, र भारी ऋणले उनलाई झनै थिचिरहेको थियो। २०७८ माघ २० गते उनकी श्रीमती धनादेबि बुढा रुखबाट खसेर मेरुदण्डमा गम्भीर चोट लागेपछि उनी झनै संकटमा परे।
पूर्ण बहादुरले सेती प्रादेशिक अस्पतालमा श्रीमतीको सफल सल्यक्रिया गराउन ३ लाख ५० हजार ऋण उठाए। केही समय मकै खेती र श्रीमतीको हेरचाहमै बित्यो। उनी सम्झन्छन्, “त्यो वर्ष मकैबाट श्रीमतीका लागि दूध र फलफूलको खर्च सजिलो भयो। तर ऋण तिर्ने, छोराहरूको पढाइ खर्च चलाउने जिम्मेवारीले निकै दबाब थियो।”
उनी अन्ततः ३ कट्ठा जमिन बेचेर ऋण तिर्न सफल भए र २०७९ सालमा ८ कट्ठामा ‘अरुण-२’ जातको मकै लगाएर २ लाख रुपैयाँ बराबरको कारोबार गरे। यसले उनलाई आत्मबल दियो। अहिले उनी १९ कट्ठा जमिनमा हाईब्रेड ‘रामपुर-१६’ जातको मकै खेती गर्दै छन्। उनका अनुसार, “एक बोटमा २ देखि ७ वटा घोगा फलेको छ, यो वर्ष अघिल्ला वर्षभन्दा राम्रो देखिएको छ। जेठ २ गते आएको हावाहुरीले करिब २० प्रतिशत क्षति भएको भए पनि कुल उत्पादन सन्तोषजनक नै छ।

उनले कृषि ज्ञान केन्द्रबाट प्राप्त बीउ अनुदान र नियमित प्राविधिक सहयोगले आत्मबल बढाएको बताउँछन्। “समय–समयमा कृषि ज्ञान केन्द्रका प्राविधिकहरू आएर सल्लाह सुझाव दिनुहुन्छ, यसले हामी किसानलाई थप हौसला मिल्छ,” उनले भने।
पूर्ण बहादुर अहिले माछापोखरीको तयारीमा पनि छन्। मकैसँगै माछा पालन गरेर आम्दानीको नयाँ स्रोत विकास गर्ने उनको योजना छ। माछाका भुरा उत्पादन गर्ने र व्यवसायिक माछा पालनतर्फ जान उनले योजना बनाएका छन्।
त्यसैगरी कृषि ज्ञान केन्द्र कैलालीका निमित्त कार्यालय प्रमुख टेकबहादुर बिष्टका अनुसार हाल जिल्लामा ९ सय हेक्टर क्षेत्रमा बसन्ते मकै लगाइएको छ। “प्रति हेक्टर ३५० मेट्रिक टन उत्पादन भइरहेको छ। यो वर्ष उत्पादन राम्रो भएकाले आगामी वर्षहरूमा यो अझै बढ्ने देखिन्छ, उनले जानकारी दिए।
प्रमुख बिष्टका अनुसार आउँदो आर्थिक वर्ष २०८२/०८३ मा १० जना किसानलाई ‘बृहत बसन्ते मकै कार्यक्रम’ अन्तर्गत समावेश गरिनेछ। तीन वर्षको लक्ष्य अनुसार ३ हजार हेक्टर क्षेत्रफलमा बसन्ते मकै खेती विस्तार गर्ने योजना रहेको पनि उनले बताए। “किसानहरूका समस्या समाधानका लागि हामी सधैं तत्पर छौँ,” बिष्टले भने। यो बर्ष कैलालीमा बसन्ते मकैकालागी कृषि ज्ञान केन्द्र बाट ३० लाख अनुदान दिईएको पनि प्रमुख बिष्टले बताए।
कैलाली जिल्लामा बसन्ते मकै खेती कृषिमा आत्मनिर्भरता र समृद्धिको द्योतक बन्दै गएको बताउदै प्रेम बहादुर र पूर्ण बहादुरजस्ता किसानहरूको अनुभवले देखाएको र परिश्रम, सहि मार्गदर्शन, र संस्थागत सहयोग भए कृषिमा सम्भावना अपार रहेको प्रमुख बिष्ट ले बताए। यो परिवर्तनको यात्रा केवल मकै खेतीमा सीमित नभई यसले सिंगो कृषि प्रणालीमा नै सकारात्मक प्रभाव पार्न थालिसकेको उनले बताए।