धनगढी। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले वर्तमान राजनीतिक अस्थिरताको मुख्य कारण गणतन्त्रवादी नेताहरू नै भएको आरोप लगाएका छन्। सोमबार धनगढीमा आयोजित पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले देशको प्रमुख समस्या रोजगारीको अभाव र सुशासन रहेको भन्दै यसको समाधान नै प्रमुख चुनौती रहेको उल्लेख गरे।
भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि तीखा आलोचना गरे। उनले भने, “प्रचण्ड झ्यालबाट भए पनि सत्तामा जाने प्रयासमा छन्। विभिन्न अभियानका नाममा देश दौडाहामा निस्किए पनि सत्तामा संकट देखिँदा काठमाडौँ फर्कन्छन्। उनको ध्यान सत्तामा मात्र केन्द्रित छ।”
महासचिव भुसालले नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको हालको सत्ता गठबन्धन ‘संविधान संशोधन र स्थिरता’का नाममा भए पनि वस्तुतः सत्ताको दोहनका लागि मात्र बनेको दाबी गरे। “गृहमन्त्री काण्ड त लक्षण मात्र हो, यस्ता काण्ड त दिनहुँ भइरहेका छन्,” उनले भने।
उनले नेकपा नेतृत्वकालको प्रसंग उल्लेख गर्दै देउवालाई फिर्ता ल्याएर संविधान जोगाएको दाबी गरे। “कांग्रेसले कुर्सी पाउने भएपछि मात्र संविधानको पक्षमा बोलेको हो,” भुसालको आरोप थियो।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि भुसालले कटाक्ष गरे। ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको जड एमालेको नवौँ महाधिवेशनमा रहेको भन्दै उनले ओलीलाई त्यस नारा र मर्मबारे जानकारी नभएको टिप्पणी गरे।
आफ्नो पार्टी आन्दोलनमा जान नसकेका कारण कमजोर भएको स्वीकार गर्दै उनले अब जनताको हक र अधिकारका पक्षमा आन्दोलन अपरिहार्य भएको बताए। “अबको आन्दोलन सत्ताका लागि होइन, जनताका अधिकारका लागि हुनुपर्छ,” भुसालले भने।