धनगढी । नागरिक उन्मुक्ति पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नन्दकुमार राना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रानालाई आज काठमाडौँमा पार्टी प्रवेश गराएका हुन्। उक्त जानकारी माओवादी केन्द्रका नेता ओमबिक्रम भाट सरलले दिएका छन्।
राना विगत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कञ्चनपुर क्षेत्र नम्बर १ (ख) बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार थिए। पार्टीको हालैको गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले आजै नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका हुन्।
विज्ञप्तिमार्फत रानाले नागरिक उन्मुक्ति पार्टीले परम्परागत संसदीय दलहरूको जस्तो पद, प्रतिष्ठा, सत्ता र व्यक्तिगत लाभ–हानिका आधारमा निर्णय लिन थालेको आरोप लगाएका छन्। उनले पार्टीले सीमान्तकृत समुदायको पहिचान, स्वतन्त्रता र समृद्धिको पक्षमा विश्वास र भूमिकामाथि कुठाराघात गरेको जनाएका छन्।
पार्टीका पछिल्ला गतिविधिहरू नैतिकता, राजनीतिक इमान्दारिता र संस्कारविपरीत भएको उल्लेख गर्दै रानाले यस्ता परिवेशमा जिम्मेवारीमा बसिरहन उचित नठानी पार्टी परित्याग गरेको स्पष्ट पारेका छन्।
उनको माओवादी केन्द्रमा प्रवेशले आगामी राजनीतिक समीकरणमा कञ्चनपुरमा नयाँ बहसको सुरुवात हुने देखिएको छ।