कैलाली। कैलालीको गोदावरी नगरपालिकामा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको बिहीबार एक समारोहका बीच औपचारिक उद्घाटन गरिएको छ। नेपाल सरकारका उप–प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाश मान सिंहले केन्द्रको समुद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रम शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एसियाली विकास बैंक (ADB) का प्रतिनिधि, गोदावरी नगर प्रमुख विरेन्द्र भट्ट, विभिन्न जनप्रतिनिधि तथा मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
चौकीडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको यो केन्द्र एसियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत निर्माण गरिएको हो। भ्याटसहित कुल लागत रु ५१ करोड ६९ लाख ७४ हजार ४९९ रहेको यस आयोजना निर्माणको जिम्मा चीनको सिचुवान प्रोभेन्स जियोलोजिक इन्जिनियरिङ कम्पनीले लिएको थियो। कम्पनीले २०७९ सालको असोजमा ठेक्का सम्झौता गरी तोकिएको समयमै निर्माण कार्य सम्पन्न गरेको हो।
केन्द्रसम्म पुग्नका लागि २.५ किलोमिटर लामो पहुँच मार्ग समेत निर्माण गरिएको छ। निर्माण सम्पन्न भएको यो केन्द्र पहिलो तीन वर्षसम्म निर्माण कम्पनीद्वारा सञ्चालन हुनेछ भने त्यसपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिनेछ। केन्द्र सञ्चालनमा आएपछि करिब ४० देखि ४५ जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।
फोहोर व्यवस्थापन सुपरभाइजर प्रमल महराका अनुसार, हाल गोदावरी नगरपालिकाबाट दैनिक करिब ६.५ टन फोहोर संकलन भइरहेको छ। नगरका १२ वडामध्ये नौ वडाबाट मातृभूमि संरक्षण प्रालिले दैनिक तथा साप्ताहिक रूपमा फोहोर संकलन गर्दै आएको छ। अहिले संकलित फोहोर गोदावरी नदीले कटान गरेको मालाखेती सामुदायिक वनभित्र व्यवस्थापन गरिँदै आएको छ।
महरा भन्छन्, “निर्माण सम्पन्न भइसकेको केन्द्र आगामी असार महिनाबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। केन्द्रमार्फत कुहिने फोहोर र दिसाजन्य वस्तुहरूबाट जैविक मल उत्पादन गरिनेछ।” हालैका दिनहरूमा संकलित फोहोरबाट केही मात्रामा आम्दानी समेत हुन थालेको जनाइएको छ।
यो केन्द्रको सञ्चालनले गोदावरी नगरपालिकाको फोहोर व्यवस्थापन प्रणालीमा महत्वपूर्ण सुधार ल्याउने विश्वास गरिएको छ।