कैलाली। कैलालीको खानीडाँडामा प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा खेलकुद पत्रकार मञ्च कैलालीले सोमबारदेखि दुईदिने तालिमको आयोजना गरेको हो।
सोमबार एक औपचारिक कार्यक्रमबीच तालिमको उद्घाटन गरिएको थियो। मञ्चका अध्यक्ष प्रदीप पाठकको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव बैकुण्ठराज पराजुली प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
खेलकुद पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ। तालिममा सहभागी पत्रकारहरूले खेल क्षेत्रसँग सम्बन्धित विविध पक्षहरूमा ज्ञान तथा सीप सिक्न पाउने मञ्चको भनाइ छ।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, महासंघ बझाङका अध्यक्ष ललित सिंह, वरिष्ठ पत्रकार दिपक उपाध्याय, खेलकुद पत्रकार मञ्चका पदाधिकारीसहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।