डोटी । डोटीको आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
दिपायल–सायल सडकखण्डमा दिपायलबाट मौवा जाँदै गरेको सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो।
दुर्घटनामा परी सायल गाउँपालिका–४ की ४१ वर्षीया हरुदेवी विक, चालक सुरेश कार्की (२७) र सायल–६ की ३५ वर्षीया काली कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ। काली गर्भवती थिइन्।
अन्य घाइतेहरूमा १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, २२ वर्षीय कैलास विष्ट, १४ वर्षीय दीपक विष्ट र १० वर्षीया साविता कटुवाल रहेका छन्।
चार जनाको अवस्था गम्भीर रहेको र सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रामचन्द्र जोशीले जानकारी दिए।