धनगढी । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा बैठक भोलि (बुधबार) बिहान ९ बजेदेखि विश्वविद्यालयकै परिसरमा बस्ने भएको छ।
उपकुलपति प्राडा. सुनिलकुमार जोशीका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ। यसअघि तीनवटै सभा बैठक संघीय राजधानीमा बसेकोमा पहिलोपटक विश्वविद्यालय परिसरमै बैठक आयोजना गर्न लागिएको हो।
बैठकमा विश्वविद्यालयसँग सम्बन्धित नियमावली, विभिन्न कार्यविधिको मनोनयन तथा अनुमोदन, आर्थिक तथा खरिद नियमावलीमाथि छलफल हुने जनाइएको छ। साथै शिक्षण अस्पताललाई भविष्यमा प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा पनि विशेष छलफल गरिनेछ।
सभामा शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शिक्षा सचिव, स्वास्थ्य सचिव, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, मुख्यमन्त्रीसहित १७ जनाको सहभागिता रहनेछ।
विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि एमबिबिएससहित चिकित्सा शिक्षा अध्यापनको तयारी भइरहेको छ भने गेटा विश्वविद्यालय सञ्चालनको प्रतीक्षा भइरहेको छ।