सरस्वती बिक
धनगढी । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरूका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम आयोजना गरेको छ।
कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै सोमबारदेखि सुरु भएको कार्यक्रम बुधबारसम्म सञ्चालन हुने विभागले जनाएको छ।

सूचना तथा प्रसारण विभागकी निर्देशक पूर्णिमा उपाध्यायका अनुसार पत्रकारिता अध्ययन गरेका विद्यार्थीहरू यस क्षेत्रमा अपेक्षाकृत कम संलग्न हुने र पत्रकारिता विषय नपढेका व्यक्तिहरूको सक्रियता बढ्दै जाँदा व्यवसायिकता तथा समाचारको गुणस्तरमा गिरावट आएको सन्दर्भमा विद्यार्थीहरूलाई पेशागत पत्रकारितातर्फ अभिप्रेरित गर्न कार्यक्रम सञ्चालन गरिएको हो।
उहाँले विभागको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरूलाई व्यवसायिक पत्रकारितातर्फ आकर्षित गर्ने तथा दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उद्घाटन सत्रमा प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशी, हुलाक निर्देशनालय कैलालीका शाखा अधिकृत जितेन्द्र विक, आमसञ्चार तथा पत्रकारिताका प्राध्यापकहरू तथा सूचना तथा प्रसारण विभागका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल क्याम्पस तथा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको छ।
उद्घाटन सत्रका प्रमुख अतिथि तथा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पछिल्लो समय पत्रकारितामा व्यवसायिकता खस्किँदै गएको उल्लेख गर्दै विद्यार्थीहरूलाई खोज पत्रकारितातर्फ उन्मुख हुन आग्रह गर्नुभयो।
त्यस्तै, कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर बिष्टले क्याम्पसले विद्यार्थीहरूको सीप विकाससँगै रोजगारी सुनिश्चित गर्न विभिन्न सरकारी निकायहरूसँग इन्टर्नशिपका लागि समन्वय गरिरहेको जानकारी दिनुभयो।
उक्त कार्यक्रमले पत्रकारिता अध्ययनरत विद्यार्थीहरूलाई पेशागत दक्षता, खोजमूलक रिपोर्टिङ र व्यावहारिक अनुभवतर्फ थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।