कैलाली । गौरीगङ्गा नगरपालिकालाई दलित समुदायको सर्वाङ्गिण विकासका लागि ध्यानाकर्षण गराउँदै आईतबार एक प्रतिनिधि समूहले नगरप्रमुख समक्ष ज्ञापनपत्र बुझाएको छ।
उक्त ज्ञापनपत्रमा आगामी आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रममा दलितमैत्री बजेट विनियोजन गर्न र दलित समुदायको शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक र राजनैतिक अधिकारलाई सुनिश्चित गर्ने नीति समावेश गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा गौरीगङ्गा नगरपालिकाभित्रका वडा नं. १ देखि ११ सम्मका सम्पूर्ण दलित समुदायका विषयलाई समेटेर आफ्नै “दलित सशक्तीकरण ऐन २०८२” जारी गरी कार्यान्वयन गर्न पनि जोडदार माग गरिएको छ।
ज्ञापन बुझाउने प्रतिनिधि समूहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भक्तबहादुर विश्वकर्मा ,नेकपा एमाले कैलालीका सचिवालय सदस्य हंस बहादुर नेपाली , दलितका लागि दलित अभियान सुदूरपश्चिम प्रदेश संयोजक सुरत भूल, जिल्ला संयोजक सन्तोष आउजी, मातृभूमि जागरण अभियानका जङ्ग विक ,उत्पीडित समन्वय मञ्च गौरीगंगाका अध्यक्ष डिवि सुनार , नेकपा माओवादी केन्द्रका गौतम विश्वकर्मा लगायतका व्यक्तिहरू सहभागी थिए।
ज्ञापनमा उल्लेख गरिएको मुख्य मागहरूमा समावेशी नीति निर्माण, स्थानीय दलितको रोजगारी, सीप विकास तालिम, आवास, शिक्षा, स्वास्थ्य र दलित अधिकारको संरक्षण सम्बन्धी स्पष्ट कार्ययोजना आवश्यक रहेको जनाइएको छ।
प्रतिनिधिमण्डलले नगरप्रमुखसँग सकारात्मक छलफल भएको र मागहरू आगामी नीति तथा कार्यक्रममा समेटिने आशा व्यक्त गरेका छन्।