दीपक बहादुर विश्वकर्मा
डोटी । डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४५ करोड ६६ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष विष्णा देउवा बमले बजेट प्रस्तुत गर्नुभएको हो।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष देउवाले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “गाउँको उत्पादनशीलता बढाउने, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने, तथा सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बजेट निर्माण गरिएको हो।”
बजेट स्रोतहरू यस्ता छन्:
आन्तरिक आम्दानी: रु ४३ लाख ७१ हजार
संघीय सरकार समानीकरण अनुदान: रु ९ करोड ३० लाख
संघीय राजस्व बाँडफाँट: रु १० करोड ५७ लाख
संघीय सरकारको शर्तसहितको अनुदान: रु २१ करोड ३० लाख
संघीय समपूरक अनुदान: रु ८८ लाख
प्रदेश सरकार समानीकरण अनुदान: रु ७६ लाख ७१ हजार
स्थानीय उत्पादन र युवालाई लक्षित योजना
गाउँपालिकाको बजेटले उत्पादनमूलक उद्यम र स्थानीय रोजगारी सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ। विशेषतः कृषिमा यान्त्रीकरण, पशुपालन प्रवर्द्धन, होमस्टे र आन्तरिक पर्यटनको विकास, स्वास्थ्य सेवा विस्तार, तथा सीप विकास तालिममार्फत स्वरोजगार सिर्जना गर्ने कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ।
अर्को बैठक असार १३ मा
बजेटमाथि छलफल गर्नका लागि गाउँपालिकाको अर्को बैठक असार १३ गते बिहान ११ बजेका लागि तय गरिएको छ। उक्त बैठकको आह्वान गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाले गर्नुभएको हो।