दीपक बहादुर विश्वकर्मा
कैलाली । सुदूरपश्चिम प्रदेशका लागि गौरवको क्षण साक्षी बनेको छ। जानकी गाउँपालिका–५ का प्रतिष्ठित कृषक प्रेमप्रसाद जोशीलाई राष्ट्रिय उत्कृष्ट कृषकको सम्मान प्रदान गरिएको छ।
मंगलबार काठमाडौंमा आयोजित एक भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट १४ जना कृषकहरूलाई राष्ट्रिय स्तरमा सम्मान गरिएको थियो। सोही अवसरमा खप्तड पशुपंक्षी तथा कृषि फर्मका संस्थापक प्रेमप्रसाद जोशीले सुदूरपश्चिम प्रदेश प्रतिनिधित्व गर्दै राष्ट्रिय उत्कृष्ट कृषकको पुरस्कार प्राप्त गर्नुभयो।

जोशीले विगत दुई दशकभन्दा बढी समयदेखि पशुपालन, अर्गानिक कृषि र आधुनिक प्रविधिमैत्री खेती प्रणालीमार्फत आत्मनिर्भर कृषिको अभियान सञ्चालन गर्दै आउनुभएको छ। उहाँको समर्पण र मेहनतले जानकी गाउँपालिकाभित्र मात्र होइन, समग्र सुदूरपश्चिममै प्रेरणादायी उदाहरण स्थापित गरेको छ।
जोशीलाई प्रदान गरिएको नगद पुरस्कार र सम्मानपत्र केवल व्यक्तिगत उपलब्धिको कदर होइन, यो सम्पूर्ण मेहनती कृषक वर्गप्रतिको राष्ट्रको सम्मान र कदरको प्रतीक हो। कार्यक्रममा उहाँको योगदानलाई “राष्ट्रिय खाद्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने कृषकको प्रतिविम्ब” भनेर उल्लेख गरिएको थियो।