दिपक बहादुर विश्वकर्मा
टीकापुर । हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाले टीकापुर नगरपालिकाभित्र निजी र सरकारी विद्यालयहरूबीचको गहिरो शिक्षागत खाडल स्पष्ट पारेको छ।
नगर क्षेत्रभित्रका २६ विद्यालयबाट सहभागी १,६०९ जना परीक्षार्थीमध्ये ५०.९० प्रतिशत अर्थात् ८१९ जना विद्यार्थी Not Graded सूचीमा परेका छन्। यस तथ्यले समग्र शैक्षिक प्रणालीलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकतामा बल दिएको छ।

निजी विद्यालयको चम्किलो प्रदर्शन
सर्वोत्कृष्ट प्रदर्शन खड्ग मेमोरियल सेकेन्डरी स्कूलले गरेको छ। विद्यालयका ४८ परीक्षार्थीमध्ये ४७ जनाले ग्रेड प्राप्त गर्दै ९७.९२% सफलता दर हासिल गरेका छन्। अन्य शीर्ष निजी विद्यालयहरूमध्ये न्युलाइट एजुकेसन होमले ९२.१९%, र सप्तऋषि एकेडेमीले ९४.४५% Graded दर कायम गरेका छन्।
यस्तै, युनाइटेड एकेडेमी, टीकापुरका विद्यार्थी निखिल लोहारले ४.०० GPA ल्याउँदै व्यक्तिगत रूपमा समेत प्रेरणादायी सफलता देखाएका छन्।
सरकारी विद्यालयको निराशाजनक अवस्था
नगरपालिका अन्तर्गतका सरकारी विद्यालयहरूबाट ९७१ विद्यार्थी सहभागी भएका थिए। तर, तीमध्ये केवल २८५ जनाले मात्र ग्रेड प्राप्त गरे। यसले २९.३५% को कमजोर सफलता दर देखाउँछ। बाँकी ७०.६५% विद्यार्थी Not Graded मा परेका छन्, जुन अवस्था गम्भीर चिन्ताको विषय हो।

सुधारको खाँचोमा सरकारी शिक्षा प्रणाली
निजी विद्यालयहरूमा अनुशासन, व्यवस्थापन, स्रोतसाधनको प्रयोग र पठनपाठनको नियमितता राम्रो देखिँदा सरकारी विद्यालयहरू त्यसको विपरीत दिशामा देखिन्छन्।
शिक्षाविद्हरूका अनुसार, नगरपालिकाले सरकारी विद्यालयहरूमा संरचनात्मक र नीतिगत सुधार नगरेसम्म यो खाडल अझै गहिरिँदै जानेछ। स्थानीय सरकार, विद्यालय प्रशासन, अभिभावक र समुदायको सक्रिय सहकार्य विना सरकारी शिक्षाको स्तर माथि उठ्न सक्दैन।
प्रेरणा र पुनर्विचारको क्षण
खड्ग मेमोरियल जस्ता विद्यालयहरूको सफलता प्रेरणादायी छ भने सरकारी विद्यालयको अवस्था आत्मसमीक्षाको आह्वान हो। अब नगरपालिका र शिक्षा क्षेत्रका सरोकारवालाहरूले गुणस्तरीय शिक्षाको पहुँच सबैका लागि सुनिश्चित गर्न ठोस रणनीति अवलम्बन गर्नुपर्ने बेला आएको छ।