दिपक बहादुर विश्वकर्मा
कैलाली । जानकी गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन पूर्वतयारीलाई सुदृढ बनाउन चार वडामा खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ। गाउँपालिका अध्यक्ष गणेश चौधरीले वडा नं. ३, ४, ६ र ७ का लागि सामग्री हस्तान्तरण गर्नुभएको हो।
भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) र प्राक्टिकल एक्शनको सहयोगमा प्राप्त सामग्रीहरूमध्ये प्रत्येक वडालाई झन्डै ७० हजार रुपैयाँ बराबरका आपतकालीन सामग्री वितरण गरिएको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष चौधरीले स्थानीय तहमै विपद् पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। “विपद्का बेलामा तत्काल उद्धार र राहतका लागि स्थानीय तहले आफैं सक्षम हुन जरुरी छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा बी ग्रुपकी उपाध्यक्ष मिरा खनाल र कोअर्डिनेटर हेमन्त राज जोशीको विशेष योगदानलाई गाउँपालिकाले प्रशंसा गर्दै धन्यवाद प्रकट गरेको छ।
वडास्तरमै विपद् व्यवस्थापन तथा तत्काल उद्धार कार्य सशक्त रूपमा अघि बढोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ।