दिपक बहादुर विश्वकर्मा
जानकी ,कैलाली । जानकी गाउँपालिका–०८, जवलपुरममा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा २२औं राष्ट्रिय धान दिवस तथा किसान सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “मानो छरी मुरि उत्पादन गर्ने” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा कृषकहरूको योगदानको सम्मान गरिएको हो।
संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उन्नत जातको धानको बीउ प्रयोग गरी प्रतीकात्मक रोपाइँ गरिएको थियो। साथै, कृषकहरूलाई धान खेतीका लागि आवश्यक कृषि सामग्री समेत वितरण गरिएको छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा ५ जना उत्कृष्ट कृषकहरूलाई नगद र कृषि सामग्री सहित सम्मान गरिएको थियो। सम्मानित कृषकहरूले संस्थाबाट प्राप्त सहयोग र मान्यताले आफूहरूमा थप उत्साह र जिम्मेवारीको भावना बढेको प्रतिक्रिया दिएका छन्।
एक सहकारी संस्था भए तापनि सरकारी संयन्त्रभन्दा प्रभावकारी ढंगले सेवा पुर्याउँदै आएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहायता, तथा नियमित तालिम जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
देशभरका उत्कृष्ट सहकारीहरूमध्ये एकको रूपमा चिनिएको संस्थाले तीन मुख्य क्षेत्रमार्फत सेवा दिँदै आएको छ: १. बित्तीय सेवा,
२. किसान कोप एग्रो – कृषि उत्पादन तथा प्रवर्द्धन,
३. किसान कोप मार्ट – कृषि उपज तथा सामग्रीको व्यापारिक व्यवस्थापन।
कार्यक्रमका आयोजकहरूका अनुसार यस्ता पहलहरूले कृषकहरूको जीवनस्तर उकास्नुका साथै कृषि क्षेत्रको रूपान्तरणमा टेवा पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमका बारेमा विस्तृत जानकारी एकीकृत फर्म प्रमुख बिरेन्द्र बहादुर शाहले दिनुभएको थियो।