डोटी । डोटीको के.आई.सिंह गाउँपालिकामा शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अत्यन्तै कमजोर देखिएको छ। गाउँपालिकाभित्रका १० वटा विद्यालयबाट परीक्षामा सहभागी भएका २८१ विद्यार्थीमध्ये मात्र ६८ जना उत्तीर्ण भएका छन्। औसत उत्तीर्ण प्रतिशत २३.८५ मात्र रहेको यो तथ्यांकले स्थानीय तहको शिक्षा व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ।
सबैभन्दा कमजोर नतिजा छत्रेश्वर माविले देखाएको छ, जहाँ ११ जनामध्ये मात्र १ जना विद्यार्थी उत्तीर्ण भएका छन्। उत्तीर्ण प्रतिशत जम्मा ९.०९ रहेको छ। त्यसैगरी श्री इन्द्र मावि लेकगडामा ३८ जना सहभागीमध्ये ४ जना मात्र सफल भएका छन्।

श्री मोहुन्यालमाण्डौ माविमा १३ मध्ये २ जना, वासुदेव माविमा २८ मध्ये ६ जना, झिमेमालिका माविमा ५१ मध्ये ११ जना, र भुमीराज माविमा ३४ मध्ये ७ जना मात्रै उत्तीर्ण भएका छन्।
त्यसैगरी, देवस्थल माविमा २९ मध्ये ६, भुवनेश्वरी माविमा १० मध्ये ३, नवदीप बिद्यानिकेतनमा १८ मध्ये ७ र सबैभन्दा राम्रो नतिजा ल्याउने विद्यालय सरस्वती मावि राणागाउँमा ४९ मध्ये २१ जना विद्यार्थीले मात्र सफलता प्राप्त गरेका छन्।
कमजोर नतिजाका पछाडि विद्यालय प्रशासनको कमजोरी, शिक्षकमाथिको न्यून निगरानी, विद्यार्थीको पठनपाठनमा निरन्तरता नहुनु, अभिभावकको बेवास्ता र स्थानीय सरकारको शिक्षा नीति कार्यान्वयनमा कमजोरी प्रमुख कारणका रूपमा देखिएका छन्।
शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिकाले विशेष पहल गर्नुपर्ने आवश्यकता देखिएको छ। कमजोर विद्यालयमा सुधार कार्यक्रम ल्याउने, शिक्षकको उपस्थिति र शिक्षण गुणस्तरमा सुधार गर्ने, विद्यार्थी अभिमुखी कार्यक्रम सञ्चालन गर्ने र अभिभावकको भूमिकालाई थप सशक्त बनाउनेतर्फ अब ध्यान केन्द्रित गर्नु आवश्यक छ।
स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावक सबैको साझा प्रयास विना शिक्षा क्षेत्र सुधार सम्भव छैन भन्ने स्पष्ट देखिएको छ।