धनगढी । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय १९ वर्षमुनिको महिला क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा जिल्लाले जितेको छ। बिहीबार भएको रोमाञ्चक फाइनल खेलमा डडेल्धुराले कञ्चनपुरलाई ५ रनले पराजित गर्दै उपाधि कब्जा गरेको हो।
पहिला ब्याटिङ गर्दै डडेल्धुराले १६.५ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको थियो। डडेल्धुराका लागि हिरा साउँदले सर्वाधिक २४ रनको अविजित पारी खेलिन् भने अन्य खेलाडी दोहोरो अंकमा रन जोड्न सकेनन्। कञ्चनपुरले अतिरिक्त २० रन दिएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको कञ्चनपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो। उसका लागि अर्चना चन्दले २४ तथा दीपा बडूले १३ रन बनाइन्। डडेल्धुराले अतिरिक्त २९ रन दिए पनि बलिङ तर्फ प्रभावशाली प्रदर्शन गर्यो। डडेल्धुराकी मनीषा खत्री र हिरा साउँदले समान २–२ विकेट लिइन् भने आशिका महरा, सञ्जु साउँद र निशा कठायतले १–१ विकेट हात पारे।
बलिङ तर्फ कञ्चनपुरकी पुनम जोशी र सावित्री धामीले ३–३ विकेट लिँदा अर्चना चन्दले २ र गङ्गा खड्काले १ विकेट लिइन्।
उपाधिसँगै डडेल्धुराले प्रतियोगितामा आफ्नो दबदबा कायम राख्दै महिला क्रिकेटमा सशक्त उपस्थिति जनाएको छ।