काठमाडौँ । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ। निर्धारित समयसम्म ३–३ को बराबरीमा सकिएको खेलमा नेपाल ४–५ गोल अन्तरले पेनाल्टी सुटआउटमा पराजित भएको हो।
नेपालका लागि कप्तान सरु साम्बाले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गोल गरिन्। उनले खेलको २४औँ मिनेटमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। तर ३७औँ मिनेटमा सरस्वती हमालको ह्यान्डपछि उज्वेकिस्तानले पेनाल्टी पायो र मातफुना सोयीमोभाले गोल गर्दै बराबरी ल्याइन्।
पहिलो हाफको इन्जुरी समयमा उज्वेक खेलाडी एन एर्गासेभाले रातो कार्ड पाएपछि उज्वेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित भयो। यही अवसरलाई सदुपयोग गर्दै साम्बाले दोस्रो हाफको ७०औँ र ७१औँ मिनेटमा लगातार दुई गोल गर्दै ह्याट्रिक पुरा गरिन्।
तर उज्वेकिस्तानले पनि सम्हालिँदै खेलमा फर्कन सफल भयो। निर्धारित समयपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो जहाँ नेपाल दुर्भाग्यपूर्ण रूपमा पराजित भयो।
नेपालको शानदार प्रदर्शनका बाबजुद अन्तिममा जित हात पार्न नसक्नुले समर्थकलाई निराश बनाएको छ। कप्तान साम्बाको ह्याट्रिक पनि नेपालको जित सुनिश्चित गर्न पर्याप्त बन्न सकेन।