धनगढी । कैलालीको धनगढीमा श्रीमद्–हरिहर चतुर्मास अनुष्ठान तथा शिवपुरी धर्मोत्सव आजबाट सुरु भएको छ। सत्य सेवा प्रतिष्ठानले नमुना गुरुकुल स्थापनाको उद्देश्यसहित आयोजना गरेको धर्मोत्सव कात्तिक १९ गतेसम्म सञ्चालन हुने भएको हो।
धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा भइरहेको धर्मोत्सव वैदिक संस्कार, संस्कृति र शिक्षाको प्रवद्र्धनका साथै सुदूरपश्चिमको लोककलाको संरक्षणमा समेत लक्षित गरिएको छ।
धार्मिक चेतना अभिवृद्धि र संस्कारयुक्त समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यसहित चतुर्मास अनुष्ठान सञ्चालन गरिएको संकल्पकर्ता आचार्य सत्यराज अवस्थीले जानकारी दिए। उनका अनुसार धर्मोत्सवअन्तर्गत विद्यालयस्तरीय विविध प्रतियोगिता तथा लागुपदार्थ दुव्र्यसनको न्यूनीकरणका लागि सचेतनामूलक संवाद कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्। धार्मिक अनुष्ठानमा गौरा महोत्सव, तीज महोत्सव, कृष्ण जन्माष्टमी, नवरात्री विशेष र दीपावली विशेष कार्यक्रम समावेश गरिने बताइएको छ।
अनुष्ठान अवधिभर ११ करोड दीप प्रज्वलन तथा सवा करोड बेलपत्र पूजा गरिनेछ भने भारतको वाराणसीस्थित गंगाघाटमा श्रृङ्गारिक महाआरती पनि गरिने मूल आयोजक समितिले जनाएको छ।