धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीले सत्ताबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै मन्त्री चौधरीले आजै प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाउने तयारी गरेका हुन्। उनले उक्त निर्णयबारे जानकारी दिँदै आफू पार्टीको निर्णयअनुसार अघि बढ्ने बताए।
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने चौधरी नागरिक उन्मुक्ति पार्टीका एक मात्र मन्त्री थिए। हाल पार्टीले प्रदेश तथा संघीय सरकारबाट समर्थन फिर्ता लिएसँगै उनी पनि पद त्याग गर्न लागेका हुन्। यससँगै नागरिक उन्मुक्ति पार्टी अब प्रतिपक्षको भूमिकामा रहनेछ।