काठमाडौँ । नेकपा एमालेका सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) अझै पनि अव्यवस्थित रहेको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद ढकालले अध्यागमन (इमिग्रेसन) सेवामा चुस्तता नरहेको, सेवाग्राहीले ढिलासुस्ती झेल्नुपर्ने र विमानस्थलमा समग्र रुपमा सुधार आवश्यक रहेको बताएका हुन्।
‘नेपालको अहिले निरन्तर रुपमा सञ्चालनमा रहेको एउटै अन्तर्राष्ट्रिय विमानस्थल टीआइए हो। तर, यसको सेवा प्रवाह र व्यवस्थापनमा धेरै कमी छ,’ उनले भने, ‘जहाज आउँछ, तर इमिग्रेसनमा लाइन लाग्नुपर्छ, लगेज लिन डेढ घण्टासम्म कुर्नुपर्छ।’
उनले विमानस्थलको कमजोरीका कारण विदेशी पर्यटकहरू निराश भएर फर्किने र नेपाल भ्रमणको निर्णयबाट पछाडि हट्ने अवस्था सिर्जना भइरहेको बताए। ‘विमानस्थल देशको गेट हो, यहीँबाट पहिलो छवि बनिन्छ। यहाँ सेवामा सुधार गर्न नसके मुलुकको शाखमा समेत असर पर्छ,’ ढकालले स्पष्ट पारे।
बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सम्बन्धी छलफल भइरहेको थियो। सांसद ढकालले विधेयकसँगै विमानस्थल सेवा सुधारको पक्षलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।