धनगढी । सुदूरपश्चिमेली जनजीवन र वैदेशिक पीडालाई समेटेको नयाँ देउडा गीत “हट बईजाउ बैंगलोर सिटी” सार्वजनिक भएको छ। गीत परिवर्तन डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गायक सुर्य बीसी र गायिका सुनीता बिष्टको सुमधुर आवाजमा सजिएको यो गीतले विशेष गरी भारतको बैंगलोर सहरमा श्रम गरिरहेका नेपालीहरूको भावना र जीवन संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गर्छ।

गीतका रचनाकार हिरा सिंह खड्का हुन्। उनका शब्दहरूमा गाउँको मायालु सम्झना र परदेशको पीडादायी अनुभवबीचको द्वन्द्वलाई जीवन्त रूपमा उतारिएको छ।
संगीत गायक सुर्य बीसी स्वयंले दिएका छन्, भने एरेञ्ज, मिक्सिङ र मास्टरिङको काम भुमिराज थापाले गरेका छन्।

भिडियो निर्देशन चर्चित निर्देशक रेश बीसीले गरेका हुन्। भिडियोमा ललित साउँद र नानु ठकुरीले सशक्त अभिनय प्रस्तुत गरेका छन्, जसले दर्शकलाई गीतको भावनासँग जोड्न मद्दत गर्छ।
छायांकन राजेश अनुरागी, सम्पादन तथा रङ संयोजन अमित बीकेले गरेका छन्। भिडियोको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य श्रीराम फिल्म्स, काठमाडौंमा सम्पन्न गरिएको हो।
“हट बईजाउ बैंगलोर सिटी” गीतले परदेशमा छटपटाइरहेका नेपालीहरूको पीडा, गाउँ फर्कने चाहना र सांगीतिक संवेदनशीलतालाई कलात्मक ढंगमा प्रस्तुत गर्दै दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।