धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२औँ भानु जयन्तीको अवसरमा वेदान्ताचार्य साहित्यकार स्व. डमरूबल्लभ उप्रेतीद्वारा वि.सं. १९८९ मा रचित ऐतिहासिक काव्यकृति ‘पुत्र-शोक’ को लोकार्पण सम्पन्न भएको छ।
समारोहको उद्घाटन प्रमुख अतिथि हुलाक विभाग सुदूरपश्चिम प्रदेश निर्देशक तथा प्रमुख संस्कृतिविद साहित्यकार गोविन्दराज पाण्डेले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उहाँले “आदिकवि भानुभक्तको योगदानले नेपाली भाषा केवल स्वदेशमा मात्र होइन, विश्वभर नेपालीहरूको गौरव बढाएको छ,” भन्दै स्व. उप्रेतीको यो काव्यकृति सुदूरपश्चिमेली साहित्यको गौरवशाली सम्पत्ति भएको उल्लेख गर्नुभयो।
‘पुत्र-शोक’ काव्य बझाङका राजा देवीजंगबहादुर सिंहका साहिँला छोरा राजकुमार कृष्णजंगबहादुर सिंहको निधनपछि राजकीय अनुरोधमा लेखिएको मार्मिक कृति हो। यस काव्यमा संस्कृतका भर्तृहरि नीति शतक, चाणक्य नीति लगायतका धार्मिक दृष्टान्तहरूको प्रयोग गरेर वियोग शान्त पार्ने प्रयास गरिएको छ।
कार्यक्रममा समीक्षक प्राज्ञ बासुदेव पाण्डेयले “तत्कालिन समयमा सुदूरपश्चिममा लोकछन्दमा लेखन हुने गर्दथ्यो तर डमरूबल्लभ उप्रेतीले वार्णिक संस्कृत छन्दमा यो काव्य लेख्नु भएकोले उहाँको गहिरो विद्वत्ता प्रष्ट हुन्छ,” भन्नुभयो।

यस कृतिको पुनःप्रकाशन साहित्यकारका नाति गणेश उप्रेतीले गरेका हुन्। कृति अध्ययनको आधार भने नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘छन्द कविकोष’ पुस्तक र त्यसका अनुसन्धानकर्ता चन्द्रप्रसाद न्यौपानेको कार्य हो।
कार्यक्रममा वक्ताहरूमा संस्कृतिविद यज्ञराज उपाध्याय, इतिहासकार लेखक उत्तमबहादुर सिंह तथा सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद सदस्य सह–प्राध्यापक हरिकृष्ण कडायत लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले गर्नुभएको थियो भने साहित्यसमाजका महासचिव गणेश नेपालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । साथै, साहित्यकार टीआर पाठकलाई ‘यज्ञ विष्णुदास पुरस्कार’ तथा पूर्णबहादुर मल्ललाई ‘प्रतिभा श्री सम्मान’ प्रदान गरिएको थियो।