दिपक बहादुर विश्वकर्मा
डोटी । बोगटान फुडसिल गाउँपालिका–३ स्थित कानाचौर माध्यमिक विद्यालयमा एक सामाजिक तथा प्रेरणादायी कार्य गरिएको छ। शिक्षक दिपेन्द्र बमको जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत गरिब, अशक्त, निमुखा तथा जेहन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा सिंह बोहराले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा शिक्षक दिपेन्द्र बमले भने,“मेरो सानो प्रयासले विद्यार्थीहरूलाई केही राहत र प्रेरणा मिलोस् भन्ने चाहना हो। भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने छु।”

विद्यालयका प्रधानाध्यापक तारा जैशीले शिक्षक बमको कार्यको खुलेर प्रशंसा गर्दै भन्नुभयो, “हाम्रा शिक्षकले देखाउनुभएको उदाहरण साँच्चिकै प्रशंसनीय छ। यसले विद्यार्थीहरूमा पनि सकारात्मक सोच र सहयोगको भावना विकास गर्न मद्दत गर्छ।”

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहराले भने, “विद्यालय मात्र पढाउने ठाउँ होइन, सहयोग र मानवीय भावनाको केन्द्र पनि हो भन्ने कुरा आजको कार्यक्रममा प्रष्ट देखियो। यसप्रति विद्यालय परिवार धन्यवाद ज्ञापन गर्दछ।”