कैलाली । लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत सञ्चालन भइरहेको “कर्णालीको पानी लम्कीचुहा सह–लगानी” खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास आइतबार भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ। कार्यक्रममा खानेपानी मन्त्री माननीय प्रदीप यादवले आयोजनाको शिलान्यास गर्नुभयो।

चुनाको समस्या र स्वच्छ, सुरक्षित तथा भरपर्दो खानेपानीको सुनिश्चितताका लागि थालनी गरिएको यस आयोजना सम्पन्न भएपछि लम्कीचुहा नगरपालिकाका वडा नं. १, २, ३, ४ र ५ का आम उपभोक्ता प्रत्यक्ष लाभान्वित हुनेछन्।
करीब २९ करोड ४८ लाख ३२ हजार ४ सय ९९ रुपैयाँ लागतको यस आयोजना नेपाल सरकारको ७० प्रतिशत, उपभोक्ता समितिको २५ प्रतिशत र लम्कीचुहा नगरपालिकाको ५ प्रतिशत लगानीमा निर्माण हुने योजना रहेको छ।
शिलान्यास कार्यक्रममा मन्त्रीमण्डलका सदस्य प्रदीप यादवले भन्नुभयो: “लम्कीचुहाका जनताले लामो समयदेखि भोग्दै आएको खानेपानीको समस्याको समाधानका लागि यो आयोजना एउटा महत्वपूर्ण पाइला हो। सुरक्षित र भरपर्दो खानेपानी वितरणमार्फत हामी नागरिकको जीवनस्तर सुधार गर्नेछौं।”
यस अवसरमा आयोजना सफल पार्नका लागि नेपाल सरकार, खानेपानी मन्त्रालय, सुदुरपश्चिम प्रदेश सरकार, खानेपानी विभाग, लम्कीचुहा नगरपालिका, नगर प्रमुख, जनप्रतिनिधि, राजनीतिक दल, बुद्धिजीवी, व्यापारी, पत्रकार तथा आम उपभोक्ताको सक्रिय सहकार्य र सहयोगप्रति धन्यवाद व्यक्त गरिएको छ।