दिपक बहादुर विश्वकर्मा
कैलाली । “पढीलेखि जागिर खानभन्दा आफ्नै काम राम्रो,” भन्ने सोच बोकेर कैलाली जिल्ला जानकी गाउँपालिका–७, सन्तपुरका सिद्धराज विश्वकर्मा सात वर्षदेखि बंगुर पालनमा रमाइरहेका छन्।
शुरुमा पढाइलाई प्राथमिकता दिएका विश्वकर्मा पछि व्यावसायिक कृषि र पशुपालनतिर आकर्षित भए। राम्रो जागिरको खोजीभन्दा आत्मनिर्भर भएर गाउँमै केही गर्ने उद्देश्यले उनले ७ वर्ष भन्दा अगाडि बंगुर पालन सुरु गरे। अहिले उनको फार्म सितल बंगुर एण्ड पोल्ट्री फार्म नामले परिचित छ।
फार्ममा अहिले ५२ वटा माउ बंगुर, ५ वटा भाले बंगुर र सयभन्दा बढी पाठापाठी छन्। यसै फार्मबाट उनी मासुका लागि बंगुर विक्रि गर्दै आएका छन्। उनको फार्मले गाउँघरका उपभोक्तालाई ताजा बंगुर मासु उपलब्ध गराउनमात्र होइन, आसपासका युवालाई समेत स्वरोजगारको बाटो देखाएको छ।
सुरुमा सानो लगानी र सानो आशा लिएर सुरु गरेको व्यवसाय अहिले विस्तार हुँदै गएको सिद्धराज बताउँछन्। बंगुर पालनबाट भएको आम्दानीले परिवारको खर्च धान्नुका साथै बचतसमेत गर्न थालेका उनले आफ्नै गाउँमा स्वरोजगार बन्न पाउनुमा गर्व महसुस गर्छन्।
उनको भनाइमा, “जागिरको भर पर्नुभन्दा आफ्नै व्यवसायबाट केही गर्न सकियो भने गाउँमै बसेर पनि राम्रो गर्न सकिन्छ। बंगुर पालनले मलाई आत्मनिर्भर बनायो।”अहिले बंगुर पालनसँगै उनले फार्ममा केही कुखुरापालन पनि सुरु गरेका छन्। आफ्नै मिहिनेत र निरन्तर परिश्रमले व्यवसायलाई विस्तार गर्दै लाने उनको लक्ष्य छ।
स्थानीय युवाले पनि सिद्धराजको सफलताबाट प्रेरणा लिइरहेका छन्। गाउँमै बसेर श्रम र सीपको सही प्रयोग गर्न सकियो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश समेत उनले दिएको पाइन्छ।