काठमाडौं । लोकप्रिय गायन रियालिटी शो ‘नेपाल आइडल’ मार्फत चर्चामा आएका गायक रवि ओड अब शैक्षिक परामर्शको क्षेत्रमा पनि सक्रिय भएका छन्। उनी ट्याग इन्टरनेसनल एकेडेमी परामर्श संस्थाको ब्रान्ड प्रतिनिधि नियुक्त भएका हुन्।
ट्याग इन्टरनेसनलले रविको अनुभव, लोकप्रियता र युवा विद्यार्थीहरूसँगको सम्बन्धलाई ध्यानमा राख्दै उनलाई संस्थाको अनुहार बनाएको हो। अब रवि ओड युवा विद्यार्थीहरूको शैक्षिक यात्रामा मार्गदर्शकका रूपमा देखा पर्नेछन्।
संस्थाका व्यवस्थापक रोजन रिसालले गायक रवि ओडसँगको सहकार्यलाई गौरवको विषय भन्दै भने, “रवि ओडजस्ता सच्चा र प्रेरणादायी व्यक्तित्वसँग सहकार्य गर्नु हामी सबैका लागि खुसीको कुरा हो। उहाँको अन्तर्राष्ट्रिय अनुभव, संगीतमा प्राप्त सफलता र युवासँगको आत्मीय सम्बन्धले संस्थालाई अझ नजिक र भरपर्दो बनाउनेछ।”
सुदूरपश्चिमको गाउँबाट सुरु भएको रविको यात्रा काठमाडौं हुँदै अमेरिका, अष्ट्रेलिया, जापानलगायत विभिन्न देशसम्म फैलिएको छ। उनी संघर्षशील जीवनशैलीका प्रेरणादायी पात्रका रूपमा चिनिन्छन्।
नियुक्तिपछि प्रतिक्रिया दिंदै रविले भने, “मैले देखेको संसार, भोगेका अनुभव र संगीतबाट पाएको ऊर्जा अब विदेश पढ्न चाहने विद्यार्थीहरूलाई प्रेरणा दिने माध्यम बन्नेछ। ट्यागसँग म केवल प्रतिनिधि होइन, तपाईंहरूको साथी बन्न आएको छु—जहाँ शिक्षा छ, त्यहाँ म पनि छु।”
ट्याग इन्टरनेसनल एकेडेमी विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूलाई विश्वसनीय र व्यावसायिक परामर्श प्रदान गर्दै आएको संस्था हो।