सुरत भुल : साँफेबाट उठेको विभेदविरोधी स्वर”

अछाम

__________ बिज्ञापन____________

सुदूरपश्चिम प्रदेश, जहाँ आज पनि अन्धविश्वास, कुप्रथा र रूढीवादका गहिरा छायाँ देखिन्छन्, त्यही ठाउँले एउटा अद्वितीय पात्रलाई जन्म दियो जसले जीवनभरि संघर्ष र सेवाको बाटो रोजे। उनी हुन् — सुरत भुल।

 

झकाले गाउँमा जन्मिएका सुरतको बाल्यकाल अभाव र पीडामै बित्यो। उनका बुबा बुद्धि भुल गाउँभरिका हली, हलो समातेर परिवार पाल्ने, खेत खन्ने र अरूको काम गरेर जीवन गुजार्ने व्यक्तित्व थिए। अक्षरसम्म नचिन्ने उनी दिनरातको श्रममै बाँचिरहेका थिए। आमालाई भने समाजले अझै ठूलो पीडा दियो। चार सन्तान गुमाएका कारण उनलाई छिमेकीहरूले ‘पिराहा’ भनेर अपमान गर्थे। आफ्नै समाजले यस्तो अपशब्द थोपरेपछि पनि उनी सहन बाध्य भइन्। त्यस्तो पीडामय वातावरणमै जन्मिएका सुरतलाई पढाउने सपना भने उनका बुबाले कहिल्यै छाडेनन्।

 

अभावका बाबजुद सुरत पढाइतर्फ आकर्षित भए। उनी झकाले गाउँका पहिलो दलित एसएलसी उत्तीर्ण बने। त्यसबेला गाउँलेहरूले गर्वका साथ भनेका थिए– “हाम्रो चिठी लेखिदिने मान्छे पास भयो।” वास्तवमा चिठी लेख्ने–पढ्ने उनको सीपले गाउँकै मान्छेलाई भारतमा रहेका आफ्ना परिवारसँग जोड्ने माध्यम बनेको थियो। मानिसहरूले मिठाई, कपडा दिएर उनको शब्दप्रतिको योगदानलाई सम्मान गर्थे। यही कारण उनले बुझ्न थाले– शिक्षा र कलमले समाजलाई बदल्न सकिन्छ।

 

सुरतको सामाजिक यात्राको सुरुवात २०५९/६० सालतिर भयो। त्यतिबेला अछाम एचआईभी र एड्सको महामारीले थिलोथिलो भइरहेको थियो। संक्रमितको लाससम्म जलाउन नदिने भयावह अन्धविश्वासले समाज त्रसित थियो। त्यही बेला ‘वाक नेपाल’सँग स्वयंसेवक भएर उनले गाउँगाउँमा हिँडेर चेतना फैलाए। मानिसहरूलाई रोगसँग हैन, अज्ञानसँग लड्नुपर्छ भन्ने बुझाउन थाले।

 

तर उनको जीवनको निर्णायक अध्याय २०६३ साल भदौ २७ गते आयो। आफ्नो नवजात छोराको दीर्घायुका लागि पत्नी नितासँग वैद्यनाथ धाम पुगेका सुरतलाई जातकै आधारमा मन्दिर प्रवेश निषेध गरियो। पुजारी गोवर्द्धननाथ योगीले उनलाई गलहत्याएर ढोकाबाट बाहिर निकालिदिँदा उनका मनमा अपमानको भारी चोट पर्‍यो। स्कुलमा दलित भनेर शिक्षकले पानीको जग नछुन दिने पीडाभन्दा पनि त्यो चोट असह्य थियो। तर यसपटक उनले मौनता रोजेनन्। कानूनी बाटो समाते। प्रहरीकहाँ उजुरी गरे र अन्ततः पुजारीलाई आफ्नो गल्ती स्वीकार्न बाध्य बनाए। लिखित मिलापत्रमा सहीछाप गर्दै पुजारीले आइन्दा दलितलाई मन्दिर प्रवेशमा रोक नलगाउने प्रतिज्ञा गरे। त्यस दिनदेखि वैद्यनाथ धाम सबैका लागि खुला भयो। सुरतले मात्र नभई सिंगो दलित समुदायले आत्मसम्मान पुनः प्राप्त गर्‍यो।

 

त्यसपछि सुरत सामाजिक सेवामा अझ सक्रिय भए। अछामका चेतमान नगार्जी मृगौला रोगी बनेर मृत्युको मुखमा पुगेका थिए। सुरतले उनलाई भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र पुर्याए। उपचार खर्च जुटाउन उनले काठमाडौँका गल्ली र चोकमा दौडधुप गरे। पत्रकारलाई समाचार बनाउन अनुरोध गरे। पाँच–सात लाख रुपैयाँको खर्च संकलन गरेर चेतमानको जीवन बचाए। त्यस्तै हालसालै रमेश भुल र धर्म परियार जस्ता मृगौला पीडितका लागि समेत उनले अभियान चलाएर लाखौं रुपैयाँ जुटाए।

 

सुरतले शिक्षा क्षेत्रमा पनि योगदान दिएका छन्। आफूले पढेको त्रिपुरासुन्दरी माध्यमिक विद्यालयमै व्यवस्थापन समितिको अध्यक्ष बने। प्रारम्भमा ३६ जनाले उम्मेदवारी दिएको समितिमा सबैको विश्वास जित्दै उनी सर्वसम्मत अध्यक्ष बने। कोरोनाको महामारीले दुई वर्ष काम प्रभावित पार्दा पनि उनले विद्यालयको भौतिक संरचना र शैक्षिक सुधारमा महत्वपूर्ण योगदान दिए।

 

समयसँगै उनले आधुनिक प्रविधिलाई पनि सामाजिक सेवाको औजार बनाए। २०८० सालमा गरिब विद्यार्थी राहुल नेपाली एमबिबिएस पढ्नका लागि नाम त निकाल्न सफल भए, तर कलेजले १६ लाख रुपैयाँ माग्यो। आर्थिक अवस्था कमजोर भएकाले त्यो असम्भव थियो। सुरत आफैँ राहुलको घर पुगे, भिडियो खिचे र सामाजिक सञ्जालमा अपलोड गरे। भिडियो भाइरल भयो, दबाब बढ्यो र अन्ततः राहुललाई शुल्क तिर्नु नपरी नै गण्डकी मेडिकल कलेजमा भर्ना गराइयो। आज राहुल डाक्टर बन्ने बाटोमा छन्, जसको पृष्ठभूमिमा सुरतको संघर्ष खडा छ।

 

तर विभेद र पीडासँगको लडाइँ अझै अन्त्य भएको छैन। सुरत प्रायः भन्छन्– “पूर्वाधारका हिसाबले काठमाडौँ विकसित छ, तर विभेदका हिसाबले अछाम र काठमाडौँमा खासै फरक छैन।” उनले आफैं र आफ्ना बुबाआमाले भोगेको पीडा सन्तानले भोग्नु नपरोस् भन्ने चाहनाले आजसम्म संघर्ष गरिरहेका छन्।

 

आज सुरत भुल ‘दलितका लागि दलित अभियान’ का सुदूरपश्चिम संयोजक छन्। गाउँमा पीडित देखे भने उनी तुरुन्त पुग्छन्, सामाजिक सञ्जालमा ‘म तपाईंहरूको कुरुवा हुँ’ भनेर सहयोग जुटाउँछन्। कहिले अस्पताल धाउँछन्, कहिले मन्त्रालय धकधक्याउँछन्। उनी केवल समाजसेवी होइनन्, एउटा आन्दोलनको स्वर, एउटा आशाको किरण बनेका छन्।

 

बुवाआमाले भोगेको विभेद, मन्दिरमा पाएको अपमान र समाजले थोपरेका बाधा–अड्चनलाई उनले व्यक्तिगत पीडा नभई सामूहिक संघर्षको स्वरूप दिएका छन्। त्यसैले आज अछामका गाउँहरूमा जब कोही सोध्छ– “हाम्रो बीचमा भगवान् को हो?” तब उत्तर आउँछ– “सुरत भुल।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

3.5 2 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x