कैलाश जोशी अत्तरिया। साउने झरिमा खोला सानो मात्र उथलपुथल मच्चाउँछ, तर त्यो खहरे नदीले जीवन दिन सक्दैन। त्यसैगरी राजनीति पनि क्षणिक नाराहरू, अस्थायी हलचल र सनसनीपूर्ण घोषणाले मात्र समाजलाई स्थायी दिशा दिन सक्दैन।
हाम्रो समाजमा प्रायः अस्थायी आन्दोलन र नाराले ध्यान त तान्छ, तर परिणाममा परिवर्तन देखिँदैन। कारण के हो? राजनीति र समाज परिवर्तन केवल छोटो समयको उत्साहमा होइन, निरन्तर संघर्ष र स्थायी मार्गनिर्देशनमा आधारित हुन्छ।
जसरी नदी निरन्तर बगिरहन्छ, पानीले जमिनलाई सिँचाइ दिन्छ र जीवन ल्याउँछ, त्यसैगरी राजनीति पनि स्थिर उद्देश्य र निरन्तर क्रियाशीलतामा मात्र जनताको मुक्ति सम्भव हुन्छ। क्षणिक आन्दोलनले भावनालाई तातो पार्छ, तर स्थायी परिवर्तन ल्याउन निरन्तरता अनिवार्य छ।
सच्चा नेताहरू र आन्दोलनकर्ता ती हुन् जसले समयसँग लचिलो तर मूल्यसँग दृढ रहन्छन्। जसले अस्थायी नाराको भ्रममा होइन, दीर्घकालीन मार्ग र संघर्षमा विश्वास गर्छन्।
आजको आवश्यकता हो – उत्साह मात्र होइन, धैर्यता; नाराभन्दा अधिक क्रियाशीलता; र हलचलभन्दा बढी निरन्तरता। समाज बाँच्न निरन्तर बगिरहने नदी जस्तै राजनीति चाहिन्छ – जसले जनतालाई मुक्तिका नयाँ सम्भावनामा पुर्याउँछ।
सुसाउने खहरे खोला होइन, निरन्तर बगिरहने नदी बनौं। यही हो जीवन र राजनीतिका लागि वास्तविक पाठ।