दीपक बहादुर विश्वकर्मा । कैलालीको जानकी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तर्गतको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीजानकी गाउँ समितिको दोस्रो भेला भव्यताका साथ सम्पन्न भएको छ।
महिलाहरूको राजनीतिक सहभागिता, अधिकार र सशक्तिकरणलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित भेलामा ठूलो संख्यामा महिला कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।
भेलाले सर्वसम्मत निर्णय गर्दै कमरेड निर्मा चौधरी “एकता” को नेतृत्वमा २९ सदस्यीय नयाँ समिति गठन गरेको छ। नयाँ समितिमा विभिन्न टोल र वडाबाट प्रतिनिधित्व हुने गरी जिम्मेवारी तोकिएको छ, जसले संगठनलाई अझ बलियो र व्यापक बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि महिला नेतृ कमला ज्ञवालीले संघ–संगठनलाई जनस्तरमा बलियो बनाउन निरन्तर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले महिलाहरू केवल सदस्य नभई आन्दोलन र परिवर्तनका अगुवा बन्नुपर्नेमा जोड दिइन्।
त्यस्तै, कृष्णा ज्ञवाली, दुर्गा चलाउने, विमला थापा लगायतका नेतृहरूले पनि आफ्नो भनाइ राख्दै महिला संगठनले गाउँ–गाउँमा संगठन विस्तार, शिक्षा, स्वास्थ्य र समान अधिकारका सवालमा अग्रसर भई आन्दोलनलाई जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमलाई पालिका अध्यक्ष कृष्ण सोडारीले पनि सम्बोधन गर्दै महिलाको हक अधिकारको लागि पार्टी सदैव लागिरहेको र महिलाहरू स्वयं पनि अग्रणी रूपमा लाग्नुपर्ने धारणा राखे।
भेलामा सहभागी कार्यकर्ताहरूले विभिन्न अनुभव, समस्या र सुझाव प्रस्तुत गर्दै महिला अधिकार, लैंगिक समानता र समाज रूपान्तरणका सवालमा महिलाको नेतृत्व अनिवार्य भएको धारणा राखेका थिए।
यसैबीच, भेलाले आउँदो भाद्र १८ देखि २० गतेसम्म हुने केन्द्रीय ७ औं राष्ट्रिय अधिवेशनमा प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ। यसका लागि कमरेड वर्षा ओडलाई प्रतिनिधि तोकिएको छ।
अन्त्यमा, आयोजक समितिले उपस्थित सम्पूर्ण अतिथि, नेतृ तथा कार्यकर्ताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।