गोदावरी। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ स्थित ओलानी अस्थायी प्रहरी पोष्टलाई कम्प्युटर र प्रिन्टर सहयोग गरिएको छ ।
क्रोसियामा रोजगारीमा रहेका युवाहरुले सहयोगी हातहरु नामक समुह गठन गरि प्रहरी चौकीलाई सहयोग गरेका हुन् । आइतबार एक कार्यक्रमबीच प्रहरी चौकीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा मालाखेती ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रण बहादुर चन्दले कम्प्युटरले प्रहरीलाई सेवा दिन सहज हुने बताउनु भयो । उहाले प्रहरीलाई प्रविधीसंग जोड्न यो सहयोगले टेवा दिने विश्वास व्यक्त गर्नुभयो । युवाहरुले विदेशमा बसेर पारिवारिक जिम्मेवारी पुरा गर्नुका साथै सहयोग गरेर सामाजिक उत्तर दायित्व पनि पुरा गरेको उहाँको भनाई छ ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले क्रोसियामा रोजगारी गरेर आफ्नो खर्च कटौती गरेर यस क्षेत्रका लागि सहयोग गर्ने युवाहरुबाट अरुले पनि प्रेरणा लिनु पर्ने बताउदै ,कम्प्युटर बाट नागरिक लाई प्रवाह हुने सेवामा सहजता पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँल प्रहरी संग आवश्यक पुुर्वाधार र जग्गा अभाव भएकाले त्यसको समाधानका लागि पनि आफुहरु लागि परेको बताउनु भयो ।
कार्यक्रममा साविक गोदावरी गाविसका पुर्व अध्यक्षका भानसिंह बिकले सहयागि हातहरु संस्था जस्तै भारत लगायत अन्य क्षेत्रमा बसोवास गर्ने युवाहरुले पनि आफ्नो क्षेत्र बनाउन अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले अस्थायी प्रहरी पोष्टका लागि सबै निकायले मिलेर आवश्यक जग्गाको पहल गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा गोदावरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण बिकले कम्प्युटर सहयोगले प्रहरीलाई प्रविधीसंग जोड्नुका साथै स्थानीयहरुलाई मुचल्का बनाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाही, ११ का वडा अध्यक्ष प्रेमसिह बडैला, वडा सदस्य कुमार बडैला, गोदावरी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण बिक लगायतको उपस्थिति रहेको थियो ।