धनगढी। नेपालको सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्ला अमरगडी नगरपालिका पोखरा भट्टगाउँ मा जन्म भै हाल कंचनपुर स्थित कृष्णपुर नगरपालिका वार्ड ७ क्षेत्रका निवासी वैदिक पुरोहित सुरेश पार्की (सनातनी आर्य) आज देशभित्र मात्र होइन, प्रवासका धार्मिक मण्डलीहरूमाझ पनि एक समर्पित वैदिक आचार्यका रूपमा परिचित हुँदैछन्।

झण्डै सात वर्षदेखि निरन्तर वैदिक कर्ममार्गमा प्रवृत्त रहँदै आएका पार्कीले नेपाल आर्यसमाज गुरुकुल, टिकापुर–कैलालीबाट व्यवस्थित वैदिक दीक्षा तथा संस्कार–प्रशिक्षण प्राप्त गरेका हुन्।
उनको पुरोहितीय यात्राको विशेषता भनेको जात–पातको भेदभावमाथि दृढ प्रहार गर्दै, दलित र गैरदलित दुबै समुदायका घर–घरमा समान भावले कर्मकाण्ड सम्पादन गर्नु हो।
उनी सोह्र संस्कारदेखि ग्रहशान्ति, नामकरणयज्ञोपवीत, विवाह, श्राद्ध, रुद्राभिषेक, सत्यनारायण पूजा लगायत सबै प्रकारका वैदिक अनुष्ठानहरूको विधिवत् संचालन गर्दै आएका छन्।

सुरेश पार्कीका अनुसार, “वैदिक धर्म सबैका लागि हो, कर्मकाण्डले समाजलाई एकत्व र समानताको सूत्रमा बाँध्छ।”धार्मिक सहिष्णुता र सामाजिक समरसताको यस्तो सन्देश दिन सक्ने युवा पुरोहितहरू आधुनिक नेपालमा दुर्लभ देखिन्छन्।
उनको यो कार्यले न केवल आर्य–वैदिक परम्पराको पुनरुत्थान गरिरहेको छ, तर जातीय समता र धार्मिक मानवीयताको अन्तर्राष्ट्रिय सन्देश पनि प्रसारित गर्दैछ।
अन्तर्राष्ट्रिय वैदिक मञ्चहरूले पनि पार्कीको योगदानलाई सराहना गर्न थालेका छन् — जसले नेपाललाई वैदिक समरसताको भूमिका रूपमा चिनाउन मद्दत पुर्याइरहेको छ।