बैतडी । “धर्म सबैका लागि हो, विभेदका लागि होइन।” — यही विश्वासका साथ बैतडीका ज्योतिषाचार्य गणेशप्रसाद पन्तले विगत २६ वर्षदेखि दलित समुदायका घर–घरमा पुगेर पूजा–पाठ, कर्मकाण्ड र धार्मिक संस्कार गर्दै आएका छन्।
पाटन नगरपालिका–८, खोड्पे जसुलीखाली निवासी पन्त दलित बस्तीमा धार्मिक कर्मकाण्ड गर्न थालेदेखि नै धम्की, गाली र दबाबको सामना गर्दै आएका छन्। तर, उनी विचलित छैनन्। उनी भन्छन्, “ज्यान जाने डर छैन, जातीय विभेद हटाउन सके यो जीवन सफल हुन्छ।”

पन्तका अनुसार, वैदिक परम्परा सबैका लागि समान छ, त्यसैले दलित, महिला वा पुरुष कसैलाई पनि धर्मबाट अलग गर्न नहुने हो। उनले दलित बस्तीमा व्रतबन्ध, विवाह, न्वारन, गृहप्रवेश, सप्ताह, शिवपुराणलगायतका एक सयभन्दा बढी धार्मिक कर्मकाण्ड गराइसकेका छन्।
श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका पन्तले सांस्कृतिक कुरीति तोड्ने अभियानका क्रममा आचार्य कृष्ण दमाईँसहित ११४ जना शिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराएका थिए।
उनको भनाइमा, “धर्मग्रन्थमा विभेद छैन, तर समाजमा छ। अहिले पनि कतिपय ब्राह्मण दलित बस्तीमा पूजा गर्न हिच्किचाउँछन्। मैले त्यो परम्परा तोडेको छु।”
पन्त दलितको घरमा गएर पूजा गर्छन्, त्यहीँ भोजन ग्रहण गर्छन्। उनले दलितभित्र पनि आपसी विभेद रहेको बताउँदै त्यसलाई पनि अन्त्य गर्न सबै धर्मगुरुहरू अगाडि आउनुपर्नेमा जोड दिएका छन्।
अथर्ववेदको ज्ञानको उदाहरण दिँदै उनी भन्छन्, “मोबाइल, रेडियो, टिभी, हवाईजहाजजस्ता आधुनिक वस्तु यही वेदको ज्ञानबाट सम्भव भएका हुन्। तर, त्यही ज्ञानका स्रोत शिल्पीमाथि विभेद हुनु अन्याय हो।”
पन्तका दलित समुदायमा सक्रियतापछि उनका पुर्ख्यौली ५७५ यजमान टाढा भए। सामाजिक सञ्जालमा अपमान र गाली खाए पनि उनले आफ्नो अभियान रोकेका छैनन्।
उनको दृढ वचन — “धर्मले जोड्नुपर्छ, तोड्न होइन।”पन्त अब प्रत्येक हिन्दु घरमा वेद, पुराण, शालिग्राम, तुलसी, शङ्ख–घण्टा र पाञ्चायन देवता स्थापना गर्ने योजना अघि बढाइरहेका छन्।
उनको माग छ — धर्ममा सबैका लागि समान अवसर, र विभेदकारी ग्रन्थहरूको पुनरावलोकन।
धार्मिक कार्यका लागि सम्पर्क : ९८६०२७८१००