आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

धनगढी। आज छठ पर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ । छठको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

__________ बिज्ञापन____________

 

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

 

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

 

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

 

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ दिने विधिविधान छ ।

 

 

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआरधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ ।

 

वि.सं. २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । वि.सं. २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ । छठ पर्वका लागि कैलालीमा धनगढीको महोना नदी, गोदावरीको गोदावरी नदी किनारमा सजावट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x