प्रदिप रिमाल
सुदूरपश्चिम नेपालको पहिचान, आत्मा र जीवनशैलीसँग गहिरो रूपमा गाँसिएको सांस्कृतिक सम्पदा हो देउडा । यो केवल एक गीत वा नृत्यको शैली मात्र होइन, बरु एक सामाजिक अभ्यास हो, जसले पुस्तौंदेखि पुस्तासम्म गाउँको गाथा सुनाउँदै आएको छ। तर पछिल्लो समय यस मौलिक संस्कृति संकटमा परेको छ। बजारमुखी मनोरञ्जन, पुस्तान्तरणको अभाव सामाजिक सञ्जालको प्रभाव र प्रविधिमुखी पुस्ताको बढ्दो मोहले देउडाको मौलिकतालाई खुम्च्याउँदै लाने परिस्थिति सिर्जना भएको छ।
देउडा केवल रमाइलोको माध्यम होइन, सामूहिक चेतना र सामाजिक अभिव्यक्तिको सशक्त औजार हो। यसले समुदायबीच संवाद गराउँछ, सन्देश दिन्छ, पीडा पोख्छ र प्रतिरोध पनि गर्छ। तर पछिल्लो पुस्तामा देउडाको ज्ञान र आकर्षण दुवै कमजोर हुँदै गएको छ। विद्यालय, टोल, चोक र चौतारीबाट हराउँदै, यो अहिले स्टेज शो र युट्युबका भिडिओहरूमा सीमित बन्दै गएको देखिन्छ । परम्परागत लय शब्द भुलेर आधुनिक लय र बाह्हे भाषा मिलाएर देउडा सार्वजनिक गर्ने प्रवृत्ति पछिल्लो समयमा अत्याधिक बढेको देखिन्छ । यो देउडा संस्कृति संरक्षणमा अर्को चुनौती हो ।
पछिल्लो समयमा देखिएको परिवर्तन केवल प्रयोगको शैलीमा होइन, देउडाको सारमै असर पार्ने खालको छ। मौलिक शब्दहरू हटाएर लोभलाग्दो लयमा सजिएका, तर अर्थहीन वा अस्लिल शब्दहरूले भरिएका देउडा गीतहरू मौलिकताको अपमान जस्तै लाग्न थालेका छन्। बजारको दबाबमा मौलिकता विस्थापित हुन थालेको देखिन्छ । यो सांस्कृतिक क्षेत्रमा खतराको संकेत हो।
देउडालाई बचाउन, पुनर्जीवित गर्न र यसको मौलिक स्वरूपमा प्रवर्द्धन गर्न आवश्यक छ—एक साझा पहल। स्थानीय सरकारहरूले देउडालाई पाठ्यक्रममा समावेश गर्न सकिन्छ स्कूल तहमा देउडा कार्यशाला सञ्चालन गर्न सकिन्छ। संस्कृति विभागले अनुसन्धान, दस्तावेजीकरण र मौलिक कलाकारहरूको अभिलेख तयार पारेर संरक्षणको पहल गर्नुपर्छ। सञ्चारमाध्यमहरूले देउडाको गहिराइलाई समेटेर कार्यक्रमहरू प्रसारण गर्नुपर्ने बेला आएको छ।
साथै, समाजका सच्चा सांस्कृतिक अभियन्ताहरूले पनि मौन नबसिकन देउडाको मौलिकता रक्षा गर्न आवाज बुलन्द गर्नुपर्छ। हामीले आज चेतना नलिए, भोलिका पुस्ताले देउडालाई केवल संग्रहालय वा युट्युब भिडियोमै मात्र भेट्न सक्छन। देउडा हाम्रो सम्प्रदाय हो, हाम्रो पहिचान हो—यसको संरक्षण हाम्रो कर्तव्य हो। यसका लगी सबै लाग्नुपर्छ ।
अझै पनि सुदूरका गाउँगाउँमा देउडाको स्वर गुञ्जन्छ, तर त्यो स्वर थाकेको छ, दबिएको छ।
अघिल्लो पुस्तामा मात्र सिमित छ जस्तो रौनकता थियो त्यो देखिदैन ।
पछिल्लो पुस्तामा देउडा हस्तान्तरण गर्न नसके यसको अस्तित्व मेटीने खतरा समेत छ ।
तस:अर्थ यसको संरक्षण आजको प्रमुख आवश्यकता हो । यसका लागि सम्बन्धि निकायको ध्यान समयमै जान जरुरी देकिन्छ । यदी समयमा ध्यान जान नसके देउडा केबल इतिहासमा मात्र सिमित हुनेछ । सुदुर र कर्णाली लाई नजिकबाट चिनाएको देउडा संस्कृतिको पुस्ता हस्तान्तरण र संरक्षण गर्न नसके इतिहासमा सिमित हुने लगभग निश्चित जस्तै छ ।