धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका डिन प्रा. डा. पदमराज जोशीले “लेखा प्रणाली दुरुस्त भयो भने कुनै पनि संस्थाको पारदर्शिता, विश्वसनीयता र सुशासन आफैं झल्किने,” बताएका छन्। धनगढीमा सम्पन्न अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मानक (IFRS) सम्बन्धी तालिमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले आधुनिक लेखा प्रणाली IFRS/एनएफआरएस नेपालमा सुशासनको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको उल्लेख गरेका हुन्।

एसीसीए (Association of Chartered Certified Accountants) र नेशनल कलेज अफ एकाउन्टेन्सी (NCA)को संयुक्त आयोजनामा भएको उक्त तालिममा कैलाली, कञ्चनपुर र बर्दिया जिल्लाका ६५ जना लेखा शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो। प्रा. जोशीले हाल देशका अधिकांश वित्तीय संस्थाहरूले एनएफआरएसअनुसार नै वित्तीय विवरण तयार पार्न थालेको र विश्वविद्यालयका पाठ्यक्रमहरूमा IFRS तथा NFRS का कम्पोनेन्टहरू समावेश गरिइसकेको जानकारी दिए।
एसीसीए नेपालका प्रमुख रविन कटुवालले वित्तीय व्यवस्थापनमा पारदर्शिता र अन्तर्राष्ट्रिय मानकसम्बन्धी ज्ञान अभिवृद्धिका लागि देशभर IFRS/एनएफआरएस तालिम सञ्चालन गरिएको बताए। सहभागीहरूबाट उपलब्ध भएको सकारात्मक प्रतिक्रिया निकै उत्साहजनक रहेको उनको भनाइ थियो।

विशिष्ट अतिथि तथा शैक्षिक विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले शिक्षक नै परिवर्तनका प्रमुख नेतृत्वकर्ता भएको उल्लेख गर्दै, लेखा प्रणालीको मजबुतीले सुशासन र शैक्षिक संस्थाको समग्र गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने बताए।
कार्यक्रममा प्रा. डा. हेमराज पन्त, डा. गोविन्द राज जोशी, सुरेश पन्तलगायतको विशेष उपस्थिति रहेको थियो। समापन सत्रमा नास्ट कलेजका क्याम्पस प्रमुख शिवहरी मुडभरिले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रम एनसीए कलेज अफ म्यानेजमेन्टका क्याम्पस प्रमुख सुरेश पण्डितको सभाध्यक्षमा सम्पन्न भएको थियो।
कार्यक्रमको सम्पूर्ण संयोजन शिक्षाविद् नारायण आचार्यले गर्नुभएको थियो। आचार्य प्राइम टेलिभिजनमा प्रसारण हुने शिक्षासम्बन्धी कार्यक्रम ‘सार्थक शिक्षा’ का निर्माता तथा प्रस्तोता समेत हुन्।