धनगढी। कैलालीको धनगढीमा नेशनल बाथरोग सेन्टरले आफ्नो नयाँ शाखा विस्तार गर्दै औपचारिक रूपमा सेवा शुरू गरेको छ। शुभलक्ष्मी स्वास्थ्य सेवा प्रालिको सहकार्यमा स्थापना गरिएको यो शाखाको उद्घाटन धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले गरे।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष मुडभरीले बाथरोगका उपचारका लागि काठमाण्डौँसम्म धाउनुपर्ने बाध्यता अब अन्त्यतिर गएको बताए। उनले स्थानीय स्तरमै विशेषज्ञ सेवा पाउनु धनगढीवासीका लागि ठूलो राहत भएको उल्लेख गर्दै आर्थिक रूपमा कमजोर बिरामीलाई सहुलियत तथा निःशुल्क सेवाको व्यवस्था गर्न आग्रहसमेत गरे।
नेशनल बाथरोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित बैधले बाथरोगका समस्या विविध प्रकारका हुने र तिनको उपचार विशेषज्ञ टोलीद्वारा हुनुपर्ने बताए। सामान्य परीक्षणका लागि समेत बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गर्न लक्ष्यसहित शाखा संचालनमा ल्याइएको उनको भनाइ थियो। उनले काठमाण्डौँमा जस्तै सेवा अब धनगढीमै उपलब्ध हुने उल्लेख गरे।
प्रबन्ध निर्देशक रोशन कक्षपतीले १२ वर्षअघि काठमाण्डौँमा स्थापना भएको नेशनल बाथरोग सेन्टर विस्तार हुँदै हाल देशका ८ जिल्लामा शाखा चलिरहेको र धनगढी नवौँ शाखा भएको जानकारी दिए। उनले सुदूरपश्चिमका बिरामीलाई सहजताका लागि यस शाखा स्थापना गरिएको बताउँदै बाथरोगका सम्पूर्ण परीक्षण तथा उपचार स्थानीयमै सम्भव हुने स्पष्ट पारे।
स्थानीय तहको सिफारिसमा विपन्न तथा गरिब बिरामीलाई सहुलियत दरमा सेवा उपलब्ध गराइने सेन्टरले जनाएको छ।