अछाम । नेपाली कम्युनिस्ट पार्टी अछामले मङ्सिर २६ गते जिल्ला सदरमुकाम मङ्गलसैनमा आयोजना हुने जिल्लास्तरीय पार्टी एकता सन्देशसभाका लागि आवश्यक सबै तयारी पूरा भएको पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको छ। पत्रकार सम्मेलन मङ्गलबार साँफेबगरमा सम्पन्न भएको हो।
सम्मेलनमा जानकारी दिँदै आयोजकहरूले पुर्व सांसद शेरबहादुर कुवरको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको र सन्देशसभालाई व्यवस्थित तथा प्रभावकारी बनाउन नौ वटा उपसमिति बनाएर कार्यविभाजन स्पष्ट गरिएको बताए। ती उपसमितिहरूमा आर्थिक, मञ्च व्यवस्थापन, जनपरिचालन, प्रचार–प्रसार, यातायात परिचालन, सांस्कृतिक संयोजन तथा स्वागत–सत्कार उपसमिति लगायतका संरचना समावेश छन्।
पत्रकार सम्मेलन पूर्व मन्त्री सेरबहादुर कुवरको अध्यक्षतामा सम्पन्न भएको थियो। सम्मेलनमा सुदूरपश्चिमका नेता भिम रावलको गृह जिल्ला अछाम भएकाले कार्यक्रममा भव्य सहभागिता हुने अपेक्षा जनाइएको छ। आयोजकहरूको भनाइअनुसार सन्देशसभा सफल बनाउन आवश्यक सबै पक्षको तयारी सकिएको र कार्यक्रमलाई ऐतिहासिक बनाउने लक्ष्य राखिएको छ।