धनगढी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार प्रेमबहादुर आले ले २० बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन्।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत पूर्वमन्त्रीसमेत रहेका आलेले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
उनले धनगढीको फाफ्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारेका छन्। त्यस्तै, धनगढी विमानस्थल लाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वास्थ्य क्षेत्रतर्फ उनले सेती प्रादेशिक अस्पताल को स्तरोन्नति गरी विशिष्टीकृत सेवा विस्तार गर्ने तथा उपचार सेवालाई थप प्रभावकारी बनाउने बताएका छन्। साथै, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत ३०० देखि ६०० शय्यासम्मको अस्पताल यथाशीघ्र सञ्चालनमा ल्याई एमबीबीएस पढाइ सुरु गर्ने योजना सार्वजनिक गरेका छन्।
पूर्वाधार विकासतर्फ धनगढी–खुटिया–बिपीनगर–दिपायल हुँदै उरैभन्ज्याङसम्म नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय रणनीतिक सडक तथा पुल निर्माणलाई प्राथमिकता दिने उनले बताएका छन्। ग्रामीण सडक स्तरोन्नति, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण तथा सीमा क्षेत्रमा कडाइ गर्ने योजना पनि उनको एजेन्डामा समेटिएको छ।
त्यसैगरी, लागुऔषध दुर्व्यसन नियन्त्रण, युवालाई सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, सिँचाइ व्यवस्थापन र मल–बीउको सहज उपलब्धता सुनिश्चित गर्ने, महिलाको नेतृत्व विकास तथा उद्यमशीलता प्रवर्द्धन गर्ने, दलित, महिला, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायका अधिकार सुनिश्चित गर्ने विषय पनि उनको घोषणापत्रमा समावेश छन्।
आलेले आफ्नो प्रतिबद्धता कार्यान्वयनका लागि संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर परिणाममुखी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
