हामी किन यति असंवेदनशील ?

न्यायका लागि माग गर्दा वा आवाज उठाउँदा राम्रा वा राम्री भनेर टिप्पणी गर्नु जरूरी छ ? कुनै पनि व्यक्तिको रूप वा सुन्दरताले के न्यायमा असर पार्दछ ? यदि कुनै व्यक्ति समाजले स्थापित गरेको राम्रा÷राम्री वा सुन्दरको परिभाषामा नपरेका पीडित भए भने के उहाँहरूले न्याय नपाउने वा हामीले न्यायका लागि अपील नगर्ने ?

__________ बिज्ञापन____________

विद्यालयको होस्टलमा बालिका मृत अवस्थामा भेटिएको घटना बाहिर आएसँगै, उनको न्यायको लागि लाखौं नेपालीले अपील गरिरहेका छन् । घटना घटेको करिब एक हप्तासम्म पनि जाहेरी दर्ता नगरिएको, अनुसन्धानलाई फितलो बनाइएको र परिवारका सदस्यलाई प्रहरीले समन्वय र सहयोग नगरेको विवरण बालिकाका अभिभावकले सञ्चारमाध्यम मार्फत सार्वजनिक गरेसँगै, धेरैले यस घटनालाई निर्मला पन्तको घटनासँग जोडेर विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

कुनै पनि घटना घटिसकेपछि त्यसको निष्पक्ष अनुसन्धान र दोषीहरूलाई हदैसम्मको कारबाही हुनुपर्ने व्यवस्था नेपालको कानुनले गरेको छ । तर दुःखको कुरा नेपालमा कुन शक्ति वा चलखेलले काम गर्छ कुन्नि, घटनाको उजुरी नै सहज ढंगले हुँदैन ।

घटनाको वास्तविकता के हो भन्ने त अनुसन्धानले देखाउने कुरा हो तर जब घटना विरुद्ध उजुरी लिन मानिंदैन वा पीडित पक्षलाई प्रहरी लगायत अन्य कानुन कार्यान्वयनकर्ताहरूले समन्वय र सहयोग गर्ने कार्य हुँदैन, पक्कै पनि घटनामा केही कुरा लुकाउन खोजिंदैछ वा त्यसमा केही शक्तिको चलखेल (पावर पोलिटिक्स) भएको छ वा हुने सम्भावना छ भनेर पीडित पक्ष र आम जनताले शंका गर्नु वा आरोप लगाउनु सामान्य कुरा हो ।

अपराध पीडित संरक्षण ऐन, २०७५ को परिच्छेद २ को फौजदारी न्यायिक प्रक्रियामा पीडितका अधिकार र कर्तव्य अन्तर्गत पीडितलाई फौजदारी न्यायिक प्रक्रियामा शिष्ट, मर्यादित, स्वच्छ र सम्मानजनक व्यवहार पाउने अधिकार हुनेछ भनी लेखिएको छ । तर यस्ता प्रकृतिका घटनाहरू प्रायःजसो संघ–संस्था, नागरिक समाज वा सामाजिक सञ्जालमा आम दबाब परेपछि मात्र दर्ता हुने प्रवृत्ति नेपालमा स्थापित भएको छ ।

यो स्थितिले नेपालमा समग्र न्यायको स्थितिलाई छर्लङ्ग पार्छ । न्यायप्रति जनताको विश्वासलाई धुमिल बनाउँछ । नेपालमा बढ्दो दण्डहीनता र लैंगिक हिंसाका घटनामा हुने राजनीतीकरणको अवस्थालाई उदांगो रूपमा प्रस्तुत गर्दछ । र, मानवअधिकार हनन्का घटनामा राज्यको जिम्मेवारी र जवाफदेहीको स्तर पनि थाहा हुन्छ ।

घटनाका सम्बन्धमा चासो व्यक्त गर्नु, पीडितको न्यायका लागि माग गर्नु र पीडितको पक्षमा समर्थन गर्नु प्रत्येक नागरिकको दायित्व हो । जसले पीडित पक्षलाई म एक्लो छैन भनेर महसुस गर्न र राज्यलाई यस्ता मानवअधिकार हनन्का घटनाप्रति जवाफदेही र जिम्मेवार बन्न ध्यानाकर्षण गर्दछ । तर कुनै पनि पीडितका पक्षमा आवाज उठाउँदा वा उसलाई सहयोग गर्दा उसको गोपनीयताको सुनिश्चितता गरिनुपर्दछ ।

पीडितको वा पीडित परिवारका व्यक्तिगत सूचनाहरू सार्वजनिक गर्ने अधिकार कसैसँग पनि हुँदैन । अपराध पीडित संरक्षण ऐनले पनि पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्नुहुँदैन भन्ने कुरा स्पष्ट पारेको छ । पीडितको न्यायका लागि माग गर्दा उसको फोटो वा पीडितका अन्य सूचना सार्वजनिक गर्ने कार्यले पीडितलाई न्याय दिलाउन पैरवी गर्छ भन्ने भ्रम अभियन्ताहरूमा भएतापनि यसले कालान्तरमा पीडितको परिवारलाई नराम्रोसँग असर गर्दछ ।

हुनत फोटो हाल्ने, पीडितको सम्पूर्ण पहिचान खुल्ने गरी सूचनाहरू सार्वजनिक गरेर न्यायका लागि माग गर्ने अभ्यास यो घटनामा मात्र देखिएको हैन । यीभन्दा पहिलेका धेरै घटनामा पनि यस्ता कार्यहरू भएका छन् ।

सायद यस्ता घटनाहरूमा हामी आक्रोशित वा भावनात्मक भएर केही नसोचिकन फोटोहरू तथा पीडितका पहिचान खुल्ने सूचनाहरू सार्वजनिक गर्दछौं । तर हामी कल्पना पनि गर्न सक्दैनौं, यसको असर पछि गएर पीडित जीवित भएको खण्डमा पीडित र उसको सिंगो परिवारले कसरी चुकाउनुपर्छ भनेर ।

हाम्रो समाजमा पीडित÷प्रभावितलाई हेर्ने संकुचित सोच र पीडित पक्षलाई नै दोषारोपण गर्ने परम्परा कायम छ । जसका कारण पीडित र उसको परिवारले भोग्ने सामाजिक लाञ्छना लगायत मनोसामाजिक र मानसिक क्षतिको हामी गणना पनि गर्न सक्दैनौं । यसरी सूचनाहरू सार्वजनिक गर्दा पीडित र उसको परिवारलाई सुरक्षाको जोखिम हुनसक्ने साथै उनीहरूको व्यक्तिगत तथा पारिवारिक जीवनमा समेत धेरै खालका असर पर्न सक्दछन् ।

पीडितका अभिभावक वा अन्य परिवारका सदस्यहरू सबैको आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवन हुन्छ । घटनाको केही समयसम्म उनीहरूलाई साथ र सहयोग गर्ने व्यक्तिहरू हुन्छन् । उनीहरूको प्रत्येक अभिव्यक्ति वा भावनाहरू सञ्चारमाध्यम मार्फत पनि सार्वजनिक भइरहेका हुन्छन् । तर अर्को तितो सत्यलाई पनि हामीले सोच्नुपर्छ, घटनाको केही समयपछि उहाँहरू आ–आफ्नो जीवनमा फर्किनुहुन्छ ।

त्यसपछि हाल पीडितको न्याय वा ऐक्यबद्धता जे भनौं त्यसका लागि हामीले सार्वजनिक गरेका वा अरू कसैले सार्वजनिक गरेका सूचनालाई व्यापक प्रसार गर्न सहयोग गरेकै कारण उहाँहरूलाई उल्टो असर (ब्याक फायर) हुने सम्भावना उच्च हुन्छ । सोचौं त ! हाल तपाईं हामीले सामाजिक सञ्जालमा छरपस्ट पारेका उहाँहरूको व्यक्तिगत सूचनाका आधारमा उहाँहरूले विभेद, तिरस्कार लगायत थुप्रै सामाजिक असर, पारिवारिक र व्यावसायिक असरहरू कसरी सामना गर्नुहोला । हाम्रा यस्ता असंवेदनशील कार्यहरूले पीडितको परिवारमा द्वन्द्व वा पारिवारिक विघटनको अवस्था समेत सिर्जना हुन सक्दछ । उहाँहरूको व्यावसायिक जीवनमा समेत धेरै कठिनाइ र चुनौती सिर्जना हुन सक्दछ ।

त्यस्तै फोटोहरू तथा प्रभावितको व्यक्तिगत सूचनाहरू यसरी सार्वजनिक हुँदा यस्ता अन्य धेरै घटनामा पीडित तथा उनीहरूको परिवार मौन हुने सम्भावना बढ्दछ । यस्तो प्रवृत्तिले आम मानिसमा घटनाका विरुद्धमा उजुरी गरे वा बाहिर ल्याएमा आफ्नो सबै व्यक्तिगत वा पारिवारिक सूचनाहरू सार्वजनिक हुने डर पैदा गर्दछ ।

त्यस्तै यसरी फोटोहरू राखेर न्यायका लागि माग गरिरहेका पोष्टहरूमा पक्कै पनि यहाँहरूले कमेन्ट वा प्रतिक्रियाहरू पढ्नुभएको होला । कस्ता कमेन्टहरू आउँछन् ? कति राम्री नानी, यस्ती मुना जस्ती नानीलाई बलात्कार गर्नेहरूलाई छोड्नुहुँदैन । यस्ती राम्री छोरी गुमाउँदाको पीडा कस्तो होला ?

पढ्दा वा सुन्दा त यी प्रतिक्रिया पनि पक्कै पीडितको न्यायका लागि नै गरिएका हुन् भन्ने लाग्छ । तर के तपाईंहरूले यी प्रतिक्रियालाई सूक्ष्म रूपमा विश्लेषण गर्नुभएको छ ? यस्ता प्रतिक्रियाको अर्थ के हो ? न्यायका लागि माग गर्दा वा आवाज उठाउँदा राम्रा वा राम्री भनेर टिप्पणी गर्नु जरूरी छ ?

कुनै पनि व्यक्तिको रूप वा सुन्दरताले के न्यायमा असर पार्दछ ? यदि कुनै व्यक्ति समाजले स्थापित गरेको राम्रा÷राम्री वा सुन्दरको परिभाषामा नपरेका पीडित भए भने के उहाँहरूले न्याय नपाउने वा हामीले न्यायका लागि अपील नगर्ने ?

(तिम्सिना महिला अधिकारकर्मी तथा लैंगिक समानता र सामाजिक न्याय अभियन्ता हुन् ।)

स्रोत : Online Khabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x