काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँग बुधबार सामूहिक शिष्टाचार भेट गर्दै मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित भेटमा उनले नेपालले सबै देशसँगको सम्बन्धलाई उच्च महत्व दिने, विश्वास गर्ने र पारस्परिक लाभमा आधारित साझेदारीलाई बलियो बनाउने नीति लिएको बताए।
प्रधानमन्त्री शाहले नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीति अनुसरण गर्दै आएको उल्लेख गर्दै विकास र समृद्धिका लागि मित्र राष्ट्रहरूको सहयोगप्रति आभार व्यक्त गरे।
विश्वमा जारी द्वन्द्वले सर्वसाधारण नागरिकलाई बढी असर गरिरहेको भन्दै उनले शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिए। साथै, लगानीमैत्री वातावरण निर्माण, उद्यमशीलता प्रवर्द्धन, दिगो विकास तथा व्यापार, जलवायु कार्य र जनस्तरको सम्बन्ध विस्तारमा सरकार इच्छुक रहेको बताए।
विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले राजनीतिक स्थायित्व र नीतिगत निरन्तरता कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।