धनगढी । सुदूरपश्चिम प्रदेशमा लेखा समूहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
आइतबार सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत कार्यरत लेखा समूहका कर्मचारीको बैठकले वृत्ति विकासको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो ।
२५ पुसदेखि पेन डाउन गरेर लेखाका कार्यालयमा धर्ना दिने र आवश्यकताअनुसार आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिने निर्णय समेत गरिएको छ ।
आन्दोलनका कार्यक्रमअन्तरगत उनीहरुले आइतबार प्रमुख सचिव कमलप्रसाद पोखरेल, आर्थिक मामिलामन्त्री बहादुुरसिंह थापा र अर्थ सचिव झलकराम अधिकारीलाई ध्यानकर्षण पत्र बुझाएका छन् ।
यस्तै, पुस २२ गतेदेखि २४ गतेसम्म प्रदेशका नौ वटै जिल्लाका प्रदेश लेखा कार्यालयमा लेखाका सबै कर्मचारी जम्मा भएर छलफल गर्ने कर्मचारीहरुले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन र नियमावलीमा प्रदेश प्रशासन सेवा अन्तर्गतको सामान्य प्रशासन समूहको मात्रै वृत्ति विकास हुने तर लेखा तथा राजश्व समूहको वृत्ति विकास रोकिने गरी ऐन र नियमावली जारी गरेको भन्दै लेखा समूहका कर्मचारीले आन्दोलन घोषणा गर्नुपरेको बताएका छन् ।