लाल बहादुर एस के
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भोलि पुस २३ गतेदेखि सुरु हुने १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
यो प्रतियोगिता कृष्णपुर नगरपालिका-२ वाणीस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न हुनेछ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारीहरू तीव्रताका साथ गरिरहेको कृष्णपुर नगरपालिकाले जनाएको छ ।
आइतबार पत्रकार सम्मेलन नै आयोजना गरेर कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले प्रतियोगितालाई भव्य र सभ्य बनाउन नगरका सबै सरोकारवाला युद्ध स्तरमा जुटिरहेको बताउनुभयो। उहाँले सङ्घीय सरकारको नियमित खेलकुद कार्यक्रमसँगै नगरले पनि खेलकुद क्षेत्रको विकासका लागि कार्यक्रमहरू अघि बढाइरहेको उल्लेख गर्नुभयो ।
नगर प्रमुख ओझाका अनुसार, प्रतियोगितामा नगरभरिका २६ विद्यालयहरूको सहभागिता रहने छ । प्रत्येक विद्यालयले आफ्नो विद्यालयका उत्कृष्ट खेलाडीहरूको छनोट गरी प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेका छन् । उहाँले यो प्रतियोगिताले खेलकुद क्षेत्रबाट नयाँ खेलाडी उत्पादन गर्ने र युवा पुस्तालाई कुलतबाट जोगाउने उद्देश्य बोकेको उल्लेख गर्नुभयो ।
उद्घाटन समारोहकै दिन उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरिने छ । नगरपालिकाले फरक-फरक भूगोलमा खेलकुद प्रतियोगिता आयोजना गरी विद्यालय स्तरबाटै खेलकुदको विकास गर्ने उद्देश्य लिएको उहाँको भनाइ छ । प्रतियोगितासँगै नगरका विभिन्न विद्यालयमा खेल मैदान निर्माणलगायतका संरचनाहरू पनि निर्माण भइरहेको नगर प्रमुख ओझाले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाको प्रमुख आतिथ्यतामा हुने जानकारी गराइएको छ । उद्घाटन समारोहमा विद्यालयका पूर्व पदाधिकारी, शिक्षकहरू र नगरको खेलकुद विकासमा योगदान पुर्याउने खेलाडीहरूलाई सम्मान गरिने छ ।
पत्रकार सम्मेलनमा नगर उपप्रमुख द्रोपती राना, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट, वडाध्यक्ष अर्जुन सिंह साउद, विद्यालयका शिक्षक लगायतको समेत उपस्थिति रहेको थियो । यस प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ । प्रतियोगिता विगतभन्दा बढी उत्साहजनक हुने दाबी गरिएको छ ।