धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि प्रदेशसभामा औपचारिक छलफल सुरु गरेको छ।
शनिबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले विधेयकसँग सम्बन्धित सिद्धान्त र प्राथमिकता विषयमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे।
छलफलमा सांसदहरू डम्मरी महरा, रमेशसिंह धामी, सन्तोषकुमारी शर्मा थापा, चक्रबहादुर मल्ल, इन्दिरा गिरी र माया पन्तले आ–आफ्ना धारणा राख्दै आगामी बजेट सन्तुलित र व्यवहारिक हुनुपर्नेमा जोड दिएका थिए।
प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री थापाले आगामी बजेट राज्यका निर्देशक सिद्धान्त, मौलिक हक र प्रथम पञ्चवर्षीय योजनाको मार्गदर्शनमा तयार पारिएको जानकारी दिए। उनले विगतमा कार्यान्वयनमा समस्या आएका योजनाहरूलाई पहिचान गर्दै सुधारात्मक बजेट निर्माण गर्ने स्पष्ट गरे।
बैठकले प्रदेश प्रमुख नजिर मियाँलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गर्यो।
यसअघि, प्रदेशसभाको प्रारम्भमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखबाट प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको एक प्रति सभासमक्ष टेबुल गरेका थिए।
यससँगै सुदूरपश्चिम प्रदेशमा आगामी बजेट निर्माणको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ।