दिपक बहादुर विश्वकर्मा
कैलाली। जानकी गाउँपालिका, कैलालीमा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जानकी गाउँपालिकाभित्रका ० देखि १५ महिनासम्मका ७५३ जना र १६ देखि ५९ महिनासम्मका २,४२४ जना बालबालिकालाई आवश्यक सम्पूर्ण खोप लगाइएको पुष्टि गर्दै पालिकालाई पूर्ण खोप तथा दिगोपना घोषणा गरिएको हो।
गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समिति अध्यक्ष टीका कुमारी चौधरी भुल, गाउँपालिका उपाध्यक्ष लालमति देवी कठरिया, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, जनस्वास्थ्य कार्यालय कैलालीका ओलोक नारायण चापागाई, युनिसेफका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले सम्पूर्ण बालबालिकालाई खोप लगाउन स्थानीय सरकार र समुदायबीचको सहकार्यले ठूलो भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा खोपको निरन्तरता तथा गुणस्तरमा पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।