दिपक बहादुर विश्वकर्मा
कैलाली । कैलालीको चुरे गाउँपालिका–४, गर्भामा अवस्थित ऐतिहासिक गर्भा दरबार संरक्षणको अभावमा दिनदिनै खण्डहरमा रूपान्तरण हुँदैछ। एक शताब्दी पुरानो यो राणा कालीन दरबार राज्यको नजरमा पर्न नसकेको गुनासो गर्दै आएका स्थानीय अब भने केही आशावादी देखिएका छन्, किनभने संघीय सरकारले विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्न ४ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।
संघीय पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले हालै मात्र सार्वजनिक रूपमा दरबारको संरक्षणमा सरकार गम्भीर रहेको घोषणा गरेका छन्। तर मन्त्रीको चासोसँगै गर्भामा भने निरन्तर वर्षाले दरबारका भित्ताहरू झन् भत्किंदै गएका छन्।

स्थानीय बासिन्दा केशव देउवाले भने, “चोरीको डरले इँटासमेत जोगाउन सकिएको छैन। संरक्षणको नाममा खर्च भए पनि त्यो काममा देखिँदैन।”
२५ वर्षपछि राज्यको चासो
२०५५ सालमै अगाडिको भित्तो भत्किएको यो दरबारबारे त्यतिबेला पनि समाचार प्रकाशित भइसकेको थियो। तर अहिले बल्ल सरकारले चासो देखाएकोमा ढिलो भए पनि राम्रो कदम भएको स्थानीयको भनाइ छ। यद्यपि संरक्षणको ढिलाइले दरबारको अस्तित्व नै संकटमा पर्न सक्ने चिन्ता अझै छ।
इतिहास, प्रकृति र पर्यटनको संगम
विसं १९८२ मा निर्माण थालनी भई ३ वर्षमै सम्पन्न दरबार ८३ झ्याल, ५३ ढोका र ११ रोपनी क्षेत्रमा फैलिएको थियो। तर अहिले अतिक्रमणका कारण दरबारको क्षेत्रफल समेत सिमित भएको छ।
गर्भा दरबार नजिकको प्राकृतिक सौन्दर्य, लालिगुँरास वन, हिमालको दृश्य, ग्रामीण जीवनशैली, कृषि र मत्स्यपालनको सम्भावनाले यस क्षेत्रलाई ऐतिहासिक, प्राकृतिक र कृषि पर्यटनको साझा गन्तव्य बनाउने अवसर दिएको छ।
अहिल्यै कदम नचालिए भविष्य सधैं गुम्न सक्छ
स्थानीय पत्रकार शिवराज योगी भन्छन्, “संरक्षण ढिला भयो भने यो सम्पदा खण्डहरमै सीमित हुनेछ। तर समयमै जिर्णोद्वार भए गर्भा दरबार इतिहास, पर्यटन र स्थानीय विकासको केन्द्र बन्न सक्छ।”
पूर्वपश्चिम राजमार्गको चौमालाबाट जम्मा २० किलोमिटर टाढा अवस्थित यो दरबारसम्म पुग्न कच्ची सडक निर्माण भइरहेकाले हिडन जेमका रूपमा विकास गर्ने सम्भावना अझै बाँकी छ।