अछाम । आर्थिक अभावका कारण सेवा बन्द हुने अवस्थामा पुगेको अछामको बयलपाटा अस्पताल अब सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा सञ्चालन हुने भएको छ। आइतबार सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपालबीच भएको १७ बुँदे सहमतिपछि आगामी आर्थिक वर्षदेखि अस्पताल प्रदेश सरकारको जिम्मामा सञ्चालनमा ल्याइने तय भएको हो।
सहमतिमा सामाजिक विकास मन्त्री मेघराज खड्काको उपस्थितिमा मन्त्रालयका सचिव डा. हेमराज रेग्मी र न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दीक्षितले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार आगामी भदौ १ गतेदेखि अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा औपचारिक रूपमा सञ्चालन गरिनेछ। योसँगै बयलपाटाको पूर्ण स्वामित्व र व्यवस्थापनको जिम्मा प्रदेश सरकारले लिनेछ।
तीन महिना अघि आर्थिक संकटका कारण सेवा बन्द गर्ने सूचना जारी गर्न बाध्य भएको अस्पताल अमेरिकास्थित पोसिबल नामक संस्थाको पहलमा निःशुल्क विशेषज्ञ सेवा दिँदै आएको थियो। पछिल्लो समय विदेशी दाताको सहयोगमा आएको गिरावटका कारण अस्पताल सञ्चालनमा कठिनाइ भोगिरहेको थियो।
बयलपाटा अस्पताल अछामसहित बाजुरा, डोटी लगायत दुर्गम जिल्लाका हजारौँ नागरिकका लागि सुलभ निःशुल्क स्वास्थ्य सेवाको केन्द्र बन्दै आएको थियो। अब यसलाई प्रदेश सरकारले निरन्तरता दिने भएको छ।