धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा सार्की परिवारमा नयाँ सदस्यको आगमनसँगै हर्षोल्लास छाएको छ। यज्ञ सार्कीका नाती तथा मुकेश सार्कीका छोराको न्वारन (नामकरण) संस्कार वैदिक विधिअनुसार विधिवत रूपमा सम्पन्न भएको हो।
उक्त धार्मिक समारोह पञ्चाङ्गकार ज्योतिष आचार्य गणेश प्रसाद पन्त र धर्म सार्कीको संयुक्त उपस्थितिमा सम्पन्न गरिएको थियो। समावेशी भावना र सामाजिक सद्भावको सन्देश दिने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा आफन्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो।
वैदिक मन्त्र उच्चारण गर्दै शिशुको नामकरण गरिनुका साथै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिएको थियो। आचार्य पन्तले वैदिक परम्पराअनुसार ग्रह–नक्षत्रको आधारमा शुभ साइत निकालेर नामकरण प्रक्रिया सम्पन्न गराएका थिए।
कार्यक्रममा धर्म सार्कीले धार्मिक संस्कारहरू सबै समुदायका लागि समानरूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै समावेशी अभ्यासले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए।
सार्की परिवारले परम्परा र संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तालाई धार्मिक संस्कारसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाइएको छ। न्वारन संस्कारसँगै घरपरिवारमा खुशीयाली छाएको छ भने उपस्थित सबैले शिशुको उज्ज्वल भविष्यको कामना गरेका छन्।