दलित महिलाको दृष्टिकोणबाट गौरीगंगाको नीति, कार्यक्रम र बजेटमाथि अन्तरक्रिया सम्पन्न

सरस्वती बिक

__________ बिज्ञापन____________

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–१, चौमालामा पालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई दलित महिलाको दृष्टिकोणबाट समीक्षा गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

“समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम दलित महिला संघ (FEDO) कैलाली ले आयोजना गरेको हो भने Foundation for a Just Society (FJS) को सहयोग रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कँडेल ले यस्ता कार्यक्रमहरू होटल वा सभाहलमा मात्र सीमित नराखी गाउँ, बस्ती र टोलस्तरमै सञ्चालन गर्नुपर्नेमा जोड दिए। दलित र गैरदलित समुदायलाई एउटै समावेशी मञ्चमा ल्याएर खुला छलफल गरिए विभेद अन्त्यतर्फ सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्दै उनले भने, “यस्ता कार्यक्रम अब गाउँबस्ती र टोलस्तरमै लैजान्छौँ, विभेद अन्त्य गर्ने आशा बोकेका छौँ।”

कार्यक्रममा सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्ट ले प्रशिक्षक तथा सहजीकरणकर्ताको भूमिका निर्वाह गर्दै स्थानीय सरकार सञ्चालन ऐन, संविधानले दलित समुदाय तथा विशेष गरी दलित महिलाका लागि गरेको संवैधानिक व्यवस्था, उनीहरूका लागि छुट्याइने बजेट तथा नीति निर्माण प्रक्रियाबारे विस्तृत जानकारी दिएका थिए।

उनले दलित महिलाहरू अझै पनि सामाजिक, आर्थिक र राजनीतिक रूपमा किन पछाडि परिरहेका छन्, निर्णय प्रक्रियामा उनीहरूको सहभागिता किन कमजोर छ र चेतनास्तरमा किन कमी देखिन्छ भन्ने विषयमा गहन छलफल गराएका थिए। साथै, हरेक क्षेत्रमा दलित महिलाले आफ्नो भूमिका सशक्त रूपमा निर्वाह गर्दै पहिचान निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा सहभागीहरूले दलित महिलाको समावेशीकरण व्यवहारमा भन्दा कागजी प्रक्रियामा सीमित रहेको गुनासो गरेका थिए। कार्यपालिकाबाट आवश्यक सूचना तथा जानकारी समयमै नपुग्दा दलित महिलाहरू निर्णय प्रक्रियाबाट वञ्चित भइरहेको उनीहरूको भनाइ थियो।

सहभागीहरूले दलित भएकै कारण अझै पनि सामाजिक तथा आर्थिक विभेद भोग्नुपरेको उल्लेख गर्दै भैंसी पालेर दूध बेच्न खोज्दा नबिक्ने, होटल व्यवसाय सञ्चालन गर्दा ग्राहक नआउने जस्ता समस्याहरू अझै विद्यमान रहेको बताएका थिए।

त्यसैगरी, बजेट पारदर्शितामाथि प्रश्न उठाउँदै वडा तहमा लाखौँ रुपैयाँको विस्तृत बजेट विवरण तयार गरी माथि पठाइने भए पनि पालिकास्तरको करोडौँ बजेटको विस्तृत ब्रेकडाउन वडासम्म नपुग्ने गुनासो सहभागीहरूले गरेका थिए। उनीहरूले बजेट बाँडफाँटको स्पष्ट विवरण वडा तहसम्म उपलब्ध गराई पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नुपर्ने माग समेत गरेका छन्।

 

कार्यक्रममा दलित महिलाको हक, अधिकार, नीति निर्माणमा सहभागिता र बजेटमा प्रत्यक्ष पहुँच सुनिश्चित गर्न स्थानीय तहले थप प्रभावकारी कदम चाल्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

उक्त कार्यक्रममा गौरीगंगा नगरपालिकाका सबै वडाका वडा अध्यक्ष, वडा सदस्य, नगरसभा सदस्य लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

जबरजस्ती कारणी मुद्दामा फरार कञ्चनपुरका एक जना १८ वर्षपछि पक्राउ
सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने
सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरू आन्दोलित
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
कञ्चनपुरमा जातीय विभेदको आरोपमा एक जना पक्राउ
आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट
महेन्द्रनगरमा दुई पसलमा चोरी, तीन जना पक्राउ
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ
0
Would love your thoughts, please comment.x
()
x